मतदाता परिचयपत्र वितरण



 

तुलसीपुर (दाङ), १२ असार । यही माघ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा सबै तयारी पूरा भएको छ ।

दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिमा मतदान स्थल १५१ र ३५१ मतदान केन्द्र रहेका छन् । शनिबार नै मतदान अधिकृतसहितको टोली परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत चुरामण खड्काले जानकारी दिनुभयो ।

मतदान अधिकृतसँगै मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री पठाइसकेको उहाँले बताउनुभयो । मतदान अधिकृतले निर्वाचनसम्बन्धी राजनीतिक दलका स्थानीय नेतासित मतदान प्रक्रियालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न छलफलसमेत गरेका छन् ।

यसैबीच, निर्वाचनका लागि सुरक्षाको तयारी पूरा भइसकेको सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभयो । मतदान अधिकृतसँगै यहाँका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका १० वटै तहमा रहेका ३५१ मतदान केन्द्रबाट मतदाता परिचयपत्र आइतबारदेखि वितरण थालिएको छ । आइतबार पहिलो दिन करिब २५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ दुई लाख ९१ हजार १५० मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्