नाबालकको मृत्यु भएकोमा अस्पताल घेराउ



सुरुङ्गा (झापा) ११ असार । बिर्तामोडमा रहेको कनकाई अस्पतालमा चिकित्सकको चरम लापरबाहीका कारण पाँच महिने नाबालक सुवाङ राईको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले आज बिहान अस्पताल घेराउ गरेका छन् ।

बच्चाका आफन्तले अस्पताल प्रशासनको लापरबाही र उपचारमा संलग्न चिकित्सकले उपचारमा ढिलाई गरेकाले बच्चाको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् । उत्तरी झापाको खुदुनावारी–८ निवासी लोकबहादुर राईले शनिबार बिहान बच्चाको श्वास बढेपछि उपचारका लागि कनकाई अस्पताल भर्ना गरेका थिए ।

आइसीयु नभएको भन्दै छोराको मृत्युपछि मात्रै थप उपचारका लागि विएण्डसी हस्पिटल लैजानु भन्दै चिकित्सकले पठाएको मृतकका बुबा लोकबहादुर राईले बताउनुभयो ।

यता बच्चाको मृत्युपछि आफन्तले क्षतिपूर्तिको माग गर्दै बिहान अस्पताल प्रशासन घेराउ गरेका छन् । विरामीका आफन्तले अस्पताल प्रशासन घेराउ गरेपछि अस्पताल प्रशासनले क्षतिपूर्ति स्वरुप रु एक लाख प्रदान गरेको छ ।

अस्पतालका अध्यक्ष महेन्द्रबहादुर राईले बच्चाको उपचारका क्रममा लागेको खर्च छुट गरिएको बताउनुभयो ।

मेनिन्जाइटिसका कारण बच्चाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक मन्दिरा श्रेष्ठले बताउनुभयो । अस्पतालले आइसियु भएको भन्दै बिरामी भर्ना गरेको र मृत्युपछि मात्रै बच्चालाई विएण्डसी लान रिफर गरेको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्