नेप्से परिसूचक सुधारको बाटोमा



 

काठमाडौं, (नेस)
केही समययता उठ्न नसकेको शेयर बजारले सुधार आउने संकेत देखाएको छ। साताको पहिलो दिन आइतबार ८ दशमलब २३ अंकले बढ्दै नेप्से परिसूचक लगातार तीन दिन हरियो देखिएको हो। परिसूचक गत साताको अन्तिम दुई दिन सकारात्मक देखिएको थियो।

परिसूचक सकारात्मक हुँदा आइतबार कारोबार रमकमा पनि सुधार आएको छ। आइतबार शेयर बजारमा १ सय ४८ कम्पनीको १५ लाख ८५ हजार ९ सय ६७ कित्ता शेयर ७३ करोड ९४ लाख ४१ हजार ३ सय ३५ रुपियाँमा कारोबार भयो। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा १० प्रतिशतले बढी हो। बिहीबार बजारमा ६७ करोड १८ लाख १९ हजार ८ सय ५५ रुपियाँको कारोबार भएको थियो।

परिसूचक सकारात्मक हुँदा आइतबार कारोबारमा आएका ८ मध्ये ७ समूहका परिसूचकमा हरियो रङ पोतियो। आइतबार बीमा समूह ८ दशमलब ६९ अंकले घट्नुबाहेक सबै समूहका परिसूचकमा सुधार आए। बढ्नेमा बैंकिङ समूह सबैभन्दा बढी १२ दशमलब ५६ अंकले बढ्यो। त्यसैगरी होटल समूह ११ दशमलब शून्य ४, उत्पादनमूलक समूह ८ दशमलब ४६ र विकास बैंक समूहमा ४ दशमलब ४३ अंकको सुधार आए। त्यस्तै वित्त समूह २ दशमलब ७, जलविद्युत् समूह १ दशमलब ८३ र अन्य समूहमा शून्य दशमलब ८७ अंकका सुधार आए।

आइतबार सबैभन्दा धेरै प्रभु बैंकका संस्थापक शेयरको कारोबार भयो। बैंकका ६ लाख १७ हजार १ सय ५१ कित्ता शेयर ११ करोड ७२ लाख ५८ हजार ६ सय ९० रुपियाँमा कारोबार भयो। कारोबार रकमका आधारमा लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

आइतबारको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा रिलायबल फाइनान्सका लगानीकर्ता रहेका छन्। फाइनान्सको शेयर मूल्य ८ दशमलव ५७ प्रतिशतले बढ्दा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ८८ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्