रहेनन् सुनिललाल जोशी



 

काठमाडौं, (नेस)
भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको ५३ वर्षको असामयिक निधन भएको छ। उनको हृदय रोगका कारण बँँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो।

सन् १९९६ मा अमेरिकाको एट्लान्टामा भएको २६औं ओलम्पियकमा सहभागी भएका नेपाल ओलम्पियन संघका अध्यक्ष जोशीले २०४१ सालमा काठमाडौंमा आयोजित दक्षिण एसियली खेलकुदमा सहभागीता जनाउँदै रजतपदक प्राप्त गर्न सफल भएका थिए। उनले पहिलोदेखि सातौं दक्षिण एसियाली खेलकुदसम्म प्रतिस्पर्धा गर्दै ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए। नेपाल भारोत्तोलन संघका उपाध्यक्षसमेत रहेका जोशीले खेल जीवनपश्चात २०५२ साल असोज १ गतेबाट प्रशिक्षकको रूपमा राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदै २०६३ साल पौष २१ गतेबाट वरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए।

श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुुद परिषद्मा राखिएको उनको पार्थिव शरीरमा युवा तथा खेलकुद निमित्त सचिव ज्ञानराज सुवेदी तथा कर्मचारीहरू, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, पूर्वसदस्य सचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधीकारी, ओलम्पियन खेलाडीहरू, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारीलगायतले स्व. जोशीको पार्थिव शरीरमा फूल अविरद्वारा श्रद्धाञ्जली अर्पण गरेका थिए। जोशीको आइतबारै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरियो। जोशीका श्रीमती र एक छोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्