पोर्चुगल र मेक्सिको सेमिफाइनलमा



 

लन्डन, (एजेन्सी)
फिफा कन्फेडेरेसन कपअन्तर्गत शनिबार रातिको खेलमा जित हासिल गर्दै पोर्चुगल र मेक्सिको सेमिफाइनलमा प्रवेश गरेका छन्।

ओसेनिया च्याम्पियन न्युजिल्यान्डलाई ४–० गोलअन्तरले पराजित गर्दै युरोपियन च्याम्पियन पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरेको हो। उक्त जितपछि समूह ‘ए’ को अंक तालिकामा दुई जित र एक बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताका रूपमा अर्को चरणमा पुगेको हो।
खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। योसमेत रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या ७५ पुगेको छ। सो गोलसँगै उनी युरोपियन राष्ट्रहरूमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। शीर्षस्थानमा ८४ गोलसहित हंगेरीका फेरेन्च पुस्कासले कीर्तिमान आफ्नो नाम लेखाएका छन्। रोनाल्डोले १ सय ४२ खेलमा ७५ गोल गरेका हुन्। यसै गरी पहिलो गोल भएको पाँच मिनेट नबित्दै बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगलको गोलसंख्या दुई पुर्याए।
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले खेलको ६७औं मिनेटमा गोल मेसिन रोनाल्डोलाई परिवर्तन गरे पनि दोस्रो हाफमा पोर्चुगलले थप दुई गोल गर्यो। पोर्चुगलका तर्फबाट काउन्टर अट्याकमार्फत खेलको ८०औं मिनेटमा आन्द्रे सिल्भाले तेस्रो गोल गरे। रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका नानीले इन्ज्युरी समयको पहिलो मिनेटमा थप एक गोल गरेपछि पोर्चुगलले ४–० को जित सुनिश्चित पारे।

यसै समूहको अर्को खेलमा आयोजक राष्ट्र रसियालाई २–१ ले पराजित गर्दै मेक्सिकोले पनि सेमिफाइनलमा स्थान पक्का गर्यो। खेलमा शुरुआती अग्रता भने रसियाले लिएको थियो। एलेक्जेन्डर सामेडोभले खेलको २५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि पारेका थिए। तर उक्त गोल बेहोरेको पाँच मिनेट नबित्दै नेस्टर अराउजोले गोल गरेपछि मेक्सिको खेलमा फर्कियो।

पहिलो हाफसम्म १–१ गोलको बराबरीमा टुंगिएको उक्त खेलको ५२औं मिनेटमा हर्भीङ लोजानोले गोल गर्दै मेक्सिकोलाई खेलमा अग्रता दिलाए। यता २–१ ले पछि परेको अवस्थामा खेलको ६८औं मिनेटमा युरी झिर्कभ दोहोरो पहेंलो कार्ड सिकार बनेपछि रसिया थप दवाबमा परेको थियो। अन्ततः खेलको बाँकी समयमा दुवै टोलीबाट कुनै गोल भएन र मेक्सिकोको सेमिफाइनल यात्रा सुनिश्चित बन्यो।
यस जितसँगै मेक्सिकोले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। शीर्ष स्थानको पोर्चुगल सरह नै समान ७ अंक जोडे पनि गोलअन्तरका आधारमा मेक्सिको दोस्रो स्थानमा रह्यो। समूह ‘ए’ को अंक तालिकामा दुई जित र एक बराबरीसँगै ७ अंक जोडेको मेक्सिको समूह उपविजेता बनेको छ। अंक तालिकामा ती अंक जोडेको रसिया भने समूह चरणबाटै बाहिरियो।

प्रतिक्रिया दिनुहोस्