ट्रम्पले रमजानको अवसरमा ह्वाइट हाउसमा भोज गरेनन्



 

वासिङ्टन, (एजेन्सी)
विगत दुई दशकदेखि हरेक वर्ष रमजानको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा इफ्तार पार्टीको आयोजना हुँदै आइरहेकोमा यो वर्ष नहुने भएको छ।

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले यो परम्परालाई तोडको सीएनएनले जनाएको छ। विश्वभरि सोमबार ईद मनाइँदै छ।

यद्यपि राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानियाले शनिबार एक प्रेस विज्ञप्ती जारी गरी ईदको बधाई दिएका थिए। इस्लाममा रमजानको महिनालाई अत्यन्त पवित्र महिना मानिन्छ। ह्वाइट हाउसमा डिनरको आयोजना नगरेर ट्रम्पले विगत तीन सरकारको परम्परा तोडेको सीएनएनले जनाएको छ।

वासिङटन पोस्टका अनुसार अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसनले सन् १८०५ मा यस परम्पराको थालनी गरेका थिए। यद्यपि त्यसपछि ह्वाइट हाउसमा इफ्तार पार्टीको शुरुवाट १९९६ मा राष्ट्रपति बिल क्लिन्टनले गरेका थिए। यो परम्परालाई जर्ज डब्ल्यु बुस र बाराक ओबामाले पनि जारी राखेका थिए।
ह्वाइट हाउसको डिनरमा अमेरिकी मुस्लिम समुदायका महत्वपूर्ण व्यक्ति सहभागी हुन्थे। साथै यसमा कांग्रेस सदस्य र मुस्लिम देशका कूटनीतिज्ञ पनि सहभागी हुन्थे।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले पनि दशकौं पुरानो एक परम्परालाई तोडेका छन्। ईदको अवसमा विदेश मन्त्रालयअन्तर्गतको धार्मिक तथा विश्व मामिला विभागबाट एक पार्टी आयोजनाका लागि अनुरोध गरेको सीएनएनले जनाएको छ। उक्त अनुरोधलाई अमेरिकी विदेश मन्त्रालयले अस्विकार गरेको उक्त समाचार च्यानलले जनाएको छ।
सन् १९९९ देखि अमेरिकी विदेश मन्त्रालयले इफ्तार पार्टी वा ईदको अवसरमा एक स्वागत समारोहमा पार्टीको आयोजना गर्दै आइरहेको थियो। यो अवसरमा थुप्रै कूटनीतिज्ञ भेला हुने गरेका थिए।

डोनाल्ट ट्रम्पले आफ्नो चुनावी क्याम्पेनदेखि नै इस्लामप्रति आक्रमक व्यवहार देखाएका थिए। ट्रम्पले आफ्नो चुनावी प्रचारमा मस्जिदहरूमा निगरानी राख्ने कुरा अगाडि सारेका थिए।

राष्ट्रपति बेनेपछि थुप्रै मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका आउन रोक लगाउने प्रयास गरे। यद्यपि ट्रम्पले आफ्नो पहिलो विदेश यात्रामा साउदी अरेबियाको भ्रमण गरी आफ्नो छवी बदल्ने प्रयास गरेका थिए। उक्त यात्राका क्रममा उनले ५५ मुस्लिम देशका प्रतिनिधिहरूलाई आतंकवादविरुद्ध एकजुट हुन अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्