तरकारी सित्तैमा दिन किसान बाध्य



 

सरिता चलाउने, सल्यान

खेतबारीमा परिश्रम गरी फलाएको तरकारी भाडा तिरेर गाडीमा ढुवानी गरी बजारसम्म ल्याउंँदा तरकारी बिक्री नभएपछि किसानले तरकारी त्यत्तिकै फाल्नुपर्ने अवस्था आएको छ।

बजारमा तरकारी बेच्न ल्याएका स्थानीय कपुरकोट क्षेत्रका किसान आफूले उत्पादन गरेको कृषिजन्य वस्तुले मूल्य नपाएपछि चिन्तित देखिएका थिए। विशेषगरी बन्दा गोभी नबिकेको भन्दै आफूहरूले धेरै घाटा व्यहोर्नुपरेको उनीहरूको गुनासो छ। फालावाङबाट ५ क्विन्टल तरकारी बिक्री गर्न आएका यम भण्डारीले त तरकारी बजारमा कुर्दा कुर्दा बिक्री नै नभएपछि एक जना व्यापारीलाई सित्तैमा दिएको बतउनुभयो। उहाँले भन्नुभयो–‘गाडीमा भाडा तिरेर बन्दा गोभी ल्याएंँ तर बिक्री भएन, फर्काएर घर लैजान भएन, दाङको एक जना व्यापारीलाई ५ सय क्विन्टल सित्तैमा दिएंँ।’

पछिल्लो समय यस क्षेत्रका किसानको जीवन गुजारा तरकारी खेतीबाटै हुने गरेको छ। तर, फलाएको तरकारी बेच्दा लगानीे नै नउठेपछि किसान कसरी घर खर्च चलाउने भन्ने चिन्तामा छन्।

शुक्रबार कपुरकोटको तरकारी बजारमा बन्दा बेच्न ल्याएका मुलपानीका किसान नारायण पुन पनि बन्दा कसैले किन्न नमानेकोे गुनासो गर्नुहुन्छ। उहाँले भन्नुभयो–‘बल्लतल्ल मेहेनत गरेर फलाएको तरकारी व्यापारीलाई अनुरोध गरीगरी ३ रुपियाँं किलोमा बेचेंँ।’ ३ तरकारी बिक्री आएको पैसाले गाडी भाडासमेत तिर्न नपुगेको उहाँको दुखेसो छ।

बुटवलबाट सल्यानसम्म तरकारी खरिद गर्न आएका व्यापारी श्रवणले देशका अन्य ठाउंँमा र सल्यानमा पनि बन्दा धेरै उत्पादन भएकाले उचित मूल्य नपाएको बताउनुभयो। सल्यानको पूर्वी भागमा रहेका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छाँया क्षेत्रलगायतका क्षेत्र तथा रोल्पा र दाङका विभिन्न ठाउँबाट समेत कपुरकोट बजार केन्द्रमा करिब १५ हजारदेखि १८ हजार किसानले ताजा तरकारी एवम् फलफूल बिक्री गर्ने गर्दछन्। कतिपय अवस्थामा आफूले तरकारी खरिद गरेर टाढाको बजारसम्म लैजाँदा गाडी भाडा पनि तिर्न नसकिने अवस्था आउने व्यापारी बताउंँछन्। बुटवलका व्यापारी व्यापारी दिनेशकुमार कान्डुले भन्नुभयो–‘४ रुपियाँ किलोमा तरकारी किन्ने, बुटवल लैजाँदासम्म ६ रुपियाँ खर्च हुन्छ, बिक्री पनि त्यही मूल्यमा हुन्छ भने हामीले कसरी खरिद गर्ने ?’

नेपालको बेमौसमी तरकारी बजारमा झण्डै ४० प्रतिशत भाग कपुरकोटको तरकारीले ओगटेको कृषि उपज बजार केन्द्रले जनाएको छ। एक सिजनमा झण्डै ३ हजार मेट्रिक टन ताजा बेमौसमी तरकारी यहाँबाट विभिन्न शहर, बजारमा पुग्ने गर्दछ। यसले गर्दा पनि कपुरकोटको स्थान उचो भएको छ। तर, अझै पनि यहाँका किसानले उन्नत जातको बीउ, मल वा प्राविधिक ज्ञान पर्याप्त रूपमा पाउन सकेका छैनन्।

सिधैं व्यापारीसँग मोलमोलाइ गरेर तरकारी बेच्ने गरिए पनि पटक–पटक किसानले व्यापारीले जुन मूल्यमा भन्छन् त्यही मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन्। बेला–बेलामा हुने नेपाल बन्द, चक्काजाम जस्ता आन्दोलनले पनि किसानले तरकारी बेच्न नपाउँदा घाटा व्यहोर्नु परेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्