फेसबुकमार्फत् उठेको पैसा गोरखाको विद्यालय पुनर्निर्माणमा



 

नेपाल समाचारपत्र
गोरखा
जिल्लाको शहीद लखन गाउँपालिकाका युवा प्रकाश थापाले फेसबुकमार्फत् विद्यालय पुनर्निर्माणका लागि संकलन गरेको रकम हस्तान्तरण गरेका छन्। आफूले कखरा सिकेको विद्यालयको भूकम्पले भत्काएको भवन पुनर्निर्माण गर्न थापाले फेसबुकमार्फत् पैसा संकलन अभियान शुरू गरेका थिए। थापाले शनिबार शहीद लखन गाउँपालिका–८ को राम्चे प्राथमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश श्रेष्ठलाई फेसबुकमार्फत संकलन भएको ३ लाख रुपियाँ हस्तान्तरण गरेका हुन्।

नेपाल युथ फेडेरेसनका अध्यक्ष तथा गीतकार थापासमेत रहेका थापाले एक वर्षको अवधिमा फेसबुकबाट सो रकम संकलन गरेको बताए। फेसबुकमार्फत् संकलन भएको सो रकम थापा र हालै नवनिर्वाचित वडा अध्यक्ष काशिनाथ अंगाईंले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। भूकम्प गएलगत्तै विभिन्न राहत वितरण गर्न आएका थापाले विद्यालयलाई सहयोग गर्ने वचन दिएको र हाल सो वचन पूरा गरेको बताए। ‘म आफैंले कखरा पढेको विद्यालय यसरी ढलेको देख्दा मेरो मनले मानेन’, थापाले भने– ‘त्यो बेला म यहाँबाट काठमाडौं फर्केर फेसबुकमार्फत् स्कुललाई सहयोग जुटाउने अभियान शुरू गरेँ। मेरो अभियानलाई तपोवनका गुरु, गायक आनन्दराज कार्कीलगायत धेरैको सहयोगबाट जुट्यो।
थापाको यो अभियानमा बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, क्यानडा, नर्वे, बहराइन, आदि देशबाट सहयोग प्राप्त भएको थियो। उनले सोही सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा ९७ जना विद्यार्थीलाई टिसर्टसमेत प्रदान गरे। विद्यालयमा हाल निर्माण हुँदै गरेको चारकोठे पक्की भवनका लागि सहयोग होस् भनेर रकम हस्तान्तण गरेको थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्