जोखिम मोल्दै ग्रामीण रुटमा सवारी



गोरखा–भच्चेक सडक खण्डको बलेखुमा हिलोमा फसेको बस। बर्खायाम लागेसँगै यस्तै जोखिम मोलेर भए पनि यहाँ यातायात आवतजावत भइरहेका छन्।

 

सन्तोष अधिकारी, गोरखा
मनसुन सक्रिय भएसँगै गोरखामा पनि हरेक दिन वर्षा भइरहेको छ। गोरखामा तनहुँको आँबुखैरेनीदेखि गोरखा बजारसम्म बाहेक खासै कुनै पनि ग्रामीण क्षेत्रसम्म पुग्ने गरी पक्की सडक निर्माण भएको छैन।

जिल्लाको अधिकांश ग्रामीण रुटहरूमा अहिले जोखिम मोलेरै सवारीसाधन ओहोरदोहार गरिरहेका छन्। यातायात व्यवसायी समिति गोरखाले सडक सञ्जाल पुगेको जिल्लाको प्रायः सबै ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आइरहेको छ। ग्रामीण सडकमा गुड्ने सवारीहरू अहिले जोखिम मोलेर कच्चीबाटो, हिलो, पहिरो छिचोल्दै गन्तव्यसम्म पुग्ने गरेका छन्। जिल्लाको भच्चेक, बारपाक सडक खण्ड, आरुघाट सोती सडक खण्ड, गोरखा फुजेल सडक खण्ड बढी जोखिम रहेको यातायात व्यवसायीहरू बताउँछन्।

‘अहिलेसम्म जोखिम नै मोलेर भए पनि सेवा दिइरहेका छौं’, यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले भने– ‘हामीले सेवा दिनैपर्ने तर पानी परे पनि सेवा दिन नसक्ने क्षेत्रहरू छन्। भच्चेक, लक्ष्मीबजार तीनमाने, सौरपानी, ताकुकोट, बोर्लाङ क्षेत्रमध्ये पनि सौरपानी सडक खण्डमा त गाडी जान छोडिसक्यो। अब भच्चेक, सौरपानी तीनमाने सडक खण्डमा पनि ठूलो पानी पर्नेबित्तिकै यो बन्द हुन्छ।’ गोरखाका यी ग्रामीण सडकहरूमा अब भदौ अगाडि नियमित सवारी आवतजावत नहुने व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्