३ हजारभन्दा बढी वृद्धवृद्धा सम्मानित



 

दुर्गाप्रसाद शर्मा, पर्वत
जनप्रतिनिधि आफूलाई निर्वाचित गराउने मतदाताका बीचमा निरन्तर सम्पर्कमा बस्न र जनमतलाई आफ्नो पक्षमा अझ बढाउनका लागि अनेक प्रयास गर्छन्। विकास निर्माणका काम गरेर होस वा जनताले प्रत्यक्ष भोग्नुपरेका समस्याहरू समाधान गरेर नै किन नहोस् मतदातालाई आकर्षित गरिरहन चाहन्छन्।

अरू जनप्रतिनिधिजस्तै आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काममा उत्तिकै सक्रिय भइरहेका पर्वत क्षेत्र नं २ बाट निर्वाचित व्यवस्थापिका संसद् सदस्य विकास लम्सालले भने जनताका बीचमा पुग्न अरू जनप्रतिनिधिको भन्दा छुट्टै अभियान चलाएका छन्। सांसद लम्सालले आफ्नो निर्वाचन क्षेत्रभित्रका वृद्धवृद्धालाई सम्मान गर्ने अभियान नै चलाएका हुन्। अभियान चलाएपछि गाउँगाउँमा वृद्धवृद्धाहरू लम्सालको पक्षमा खुलेरै प्रशंसा गर्न थालेका छन्।

दोस्रो संविधानमा निर्वाचित भएपछि लम्सालले गाउँमा वृद्धहरूलाई दोसल्ला ओढाएर सम्मान गर्न थालेका हुन्। सांसद लम्सालले निर्वाचित भएको दोस्रो वर्ष २०७१ मा साविकका लिमीठाना, त्रिवेणी, ठानामौलालगायत पाँच गाउँ विकास समितिका वृद्धहरूलाई सम्मान गरेका थिए भने २०७२ मा भंगारा, कुर्घा, फलामखानीलगायतका गाविसका वृद्धहरू सम्मानित भइसकेका छन्। २०७३ खानीगाउँ, मुडिकुवा, पाङराङ, बेउलीबासलगायतका गाविसमा पनि वृद्धहरूलाई सम्मान गरिएको छ। सम्मान कार्यक्रम अहिलेसम्म साविकका १७ गाउँ विकास समितिमा सकिएको छ। सामाजिक सुरक्षाभत्ता पाउँदै आएका ७० वर्षमाथिका वृद्धवृद्धा, एक महिला, दलित र अपांगहरू गरी ३ हजारभन्दा बढी यो अभियानबाट सम्माननित भइसकेका छन्। अहिलेसम्म १७ वटा गाविसमा सकिएको अभियान नगरपालिका र गाउँपालिकाका सबै वडामा यस वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको सांसद लम्सालले जानकारी दिनुभयो।

आफ्नो पाखुरो चल्नेसम्ममा सन्तानको सुखका लागि दिनरात खटिए पनि बुढेसकालमा घरपरिवारबाट तिरस्कृत भएर बस्नुपरेको बेला सम्मान पाउँदा वृद्धहरूले छुट्टै अनुभव गर्दै आएको लम्सालले बताउनुभयो। ‘वृद्धहरूले सम्मान पाउँदा सन्तानले जस्तै माया गरेको अनुभव गर्दा रहेछन्’, उहाँले भन्नुभयो– ‘बुढेसकालमा तिरस्कारको सट्टा माया पाउँदा दशैंमा जस्तै अशीर्वाद दिने गरेका छन्।’ सम्मान गर्दा वृद्धहरूलाई दोसल्ला ओढाइन्छ भने फलफूल वितरण गरिन्छ। पहिलो वर्ष निजी खर्चमा कार्यक्रम गरे पनि पछिल्ला वर्षहरूमा सांसद विकास कोषको रकमबाट कार्यक्रमहरू सम्पन्न हुँदै आएका छन्।

यसैबीच अभियानकै क्रममा पैंयु गाउँपालिकाको वडा नं ३ बेउलीबासमा हालै वृद्धवृद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बेउलीबासका ७० वर्ष माथिका १ सय ६० जना जेष्ठ नागरिकहरूलाई फलफूल वितरण तथा अबिर फूलमाला र दोसल्ला ओढाएर सांसद लम्सालले सम्मान गर्नुभयो। पछिल्लो समय वृद्धवृद्धाहरूलाई सम्मान गर्ने संस्कार समाजमा नरहेको भन्दै समाजका मानिसलाई सही मार्गमा हिँडाउन आफूले प्रत्येक गाउँपालिकाका वडाहरूका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान चलाएको सो अवसरमा लम्सालले बताउनुभयो। त्यस्तै एमाले जिल्ला अध्यक्ष पदम गिरीले जेष्ठ नागरिकहरूलाई सम्मान गर्नु नै मानिसको वास्तविक धर्म भएको बताउनुभयो। अध्यक्ष गिरीले एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ३ सय प्रतिशत वृद्धि गरी मासिक ५ हजार वृद्धभत्ता पुर्याउने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्