केही दिनलाई भाषणमुक्त



 

दोस्रो चरणअन्तर्गत आगामी बुधबार हुन लागिरहेको दोस्रो चरणको निर्वाचनको प्रचारप्रसार कार्यक्रम गएको मध्यरातदेखि सम्पन्न भएको छ। अब दोस्रो चरणको मतदान हुनुअघिसम्म कसैले पनि आ–आफ्नो पार्टीलाई मत हाल्न भाषण गर्दै हिँड्न पाउने छैनन्।

प्रमुख दलका नेताहरूले दोस्रो चरणको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्। पहिलो चरणको निर्वाचनमा प्रमुख विपक्षी नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्रले तेस्रो स्थान हासिल गरेकोमा बुधबारको निर्वाचनमा के होला भन्ने आमचासो देखिएको छ।

शीर्षदेखि तल्लो तहका नेताहरूले पनि आफूले जितेमा यसो गर्ने र उसो गर्ने भन्ने आश्वासन दिने काम गरेका थिए। ती आश्वासन कति जायज वा कति नाजायज भन्ने निक्र्यौल निकाल्ने काम सर्वसाधारणले आज र भोलिसम्ममा टुंगो लगाइसक्नुपर्नेछ। नेपालमा करिब २० वर्षको अन्तरपछि मात्रै स्थानीय तहको निर्वाचन हुन लागेकोले जनता आफ्नै गाउँ–ठाउँका नेताहरूको छनोटमा व्यस्त देखिएका छन्।

गाउँमा एकखालको उत्सव आएको जस्तो देखिएको छ। जनताको घरमा नेताहरूको भीड लागेको छ। आफूलाई नचिनेको जस्तो गर्ने नेताहरू पनि यसबीचमा जम्लाहात गर्दै जनताको घरदैलोमा पुगेका छन्। यसअघि जनताको भोट लिएर हिँडेपछि फर्केर नआउने नेता र दलहरूलाई यसपालि जनताले देखाउने मौका पनि हो यो।

पर्सि बिहानैदेखि प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरूमा ३ सय ५५ वटा स्थानीय तहको निर्वाचन हुँदै छ। अहिले ठूलादेखि साना दलहरू आफ्नो वर्चस्व जोगाउन चुनावी प्रचारप्रसारमा निकै तातिएका भए पनि दौडधुप हिजो मध्यरातबाट नै पूरा भएको छ। आइतबार रातिदेखि मतदान कार्य नसकिएसम्म मौन अवधि शुरु भएको छ। एकैजना नेताको कतिपय जिल्लामा करिब एक दर्जन चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रमको तालिका यसअघि देखिँदै आएको थियो। तर, यो मौन अवधिको शुरुआतले उनीहरूलाई पनि राहत उपलब्ध गराएको छ।

हिजो यो समाचार तयार पार्दासम्म शीर्ष नेताहरू चुनावी गतिविधिमै सक्रिय रहेका थिए। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा भाग लिन कैलाली हुनुहुन्थ्यो। उहाँले केही दिनयता आफ्नो मुकाम नै सुदूरपश्चिमलाई बनाउनुभएको छ। यस्तै, कांग्रेसकै नेता डा. मीनेन्द्र रिजाल, शेखर कोइराला, नेतृ सुजाता कोइराला र महेश आचार्य मोरङमा चुनावी प्रचारको तीव्र अभियानमा हुनुहुन्थ्यो। कांग्रेसकै दिलेन्द्रप्रसाद वडु बैतडी र दीपक गिरी दाङमा सक्रिय हुनुुहुन्थ्यो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको केही दिनयताको दौडधुप पनि हेर्न लायक थियो। ओली झापा, वरिष्ठ नेता झलनाथ खनाल इलाम, महासचिव ईश्वर पोख्रेल धनगढी, नेता शंकर पोख्रेल दाङका विभिन्न चुनावी कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्ला, माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्मा, वर्षमान पुन ‘अनन्त’ लगायतका नेता दाङमा हुनुहुन्थ्यो। दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५ सय ८१ मतदानस्थल तोकिएको छ भने ८ हजार ३ सय ६४ वटा मतदान केन्द्र रहेका छन्।

१ महानगरपालिका, ७ उप–महानगरपालिका, १ सय ११ नगरपालिका र २ सय ५५ गाउँपालिकामा मतदान हुने निर्वाचन आयोगले वताएको छ। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने बताइएको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार ६२ हजार ९ सय २६ जनाको उम्मेदवारी परेकोमा १५ हजार ३८ उम्मेदवारहरू निर्वाचित हुनेछन्। दोस्रो चरणको निर्वाचनमा मधेसका दुई नेता पनि चर्चामा रहेका छन्। उनीहरू हुन् संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला। यादव यसअघि मधेस आन्दोलनमा सामेल भए पनि जनतालाई निर्णय गर्न दिनेअवसरको रूपमा रहेको निर्वाचनमा भाग लिने निर्णय गरेपछि उहाँ अहिले चर्चामा हुनुहुन्छ भने राजपाका नेता शुक्लाले आफ्नो पार्टीले निर्वाचन बहिष्कार गर्ने भने पनि उहाँले आफ्नो क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउनुभएको छ। दोस्रो चरणको निर्वाचनअघि नै यी दुई नेतालाई राष्ट्रिय चरित्र भएका नेताको रूपमा व्याख्या गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्