मतदाता तान्न कुदाकुद



 

विमल विष्ट, डोटी
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मतपरिणाम कसले हात पार्ला भन्ने अनुमानमा पनि त्यति नै बदलाव आइरहेको छ।

२ नगर र ७ गाउँपालिका रहेको डोटीमा कांग्रेस एमालेबीच कडा प्रतिस्पर्धा छ। तेस्रोमा माओवादी केन्द्रले पछ्याइरहेको छ। तीनवटै पार्टीले आफ्नै पक्षमा वातावरण बन्दै गइरहेको दाबी गरे पनि एक अर्काको मुख्य प्रतिस्पर्धीका रूपमा कांग्रेस एमालेले नै बुझेका छन्।

कांग्रेस एमालेबीच वर्चस्व जोगाउने होड बढी चलेको छ। कमजोर क्षेत्रमा कांग्रेस एमालेले मतदाता फकाउन विभिन्न कसरत गरिरहेका छन्। दुवै पार्टीले केन्द्रीय नेताहरू बोलाएर शक्ति प्रदर्शन तथा कार्यकर्ता रिझाउने प्रयास जारी राखेका छन्।

दैनिक आमसभा गर्दै एक–अर्काका असन्तुष्ट कार्यकर्तालाई पार्टी प्रवेश गराउनमा तीव्र जोड दिइरहेका छन्। नेपाली कांग्रेस कमजोर रहेको भनिएको जोरायल गाउँपालिकामा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत आरजु राणा, डा. प्रकाशशरण महत, प्रदीप पौडेललगायतका नेताहरू आमसभामा सहभागी भएका थिए।

आमसभामा विपक्षी कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन सकेको भन्दै जोरायलमा अब एमालेसँग कडा प्रतिस्पर्धा हुने अनुमान कांग्रेसले गरेको छ। ‘गाउँमा गरिएका अनेक झूट प्रचारले मतदातालाई भ्रममा पार्ने प्रयास विपक्षीहरूले गरेका थिए’, नेपाली कांग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले भन्नुभयो– ‘त्यस्ता ठाउँमा गएर मतदातालाई स्पष्ट पारेका छौं, अब कुनै शक्तिले पनि कांग्रेसको जितलाई रोक्न सक्दैनन्।’

त्यसै गरी एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावल साता दिन अघिबाट डोटीका विभिन्न गाउँपालिका तथा नगरपालिकामा केन्द्रित हुनुहुन्छ। उहाँले दिपायल सिलगढी नगरपालिकामा बढी समय खर्चिनुभएको छ। कांग्रेसका असन्तुष्ट नेताहरू रावलको पहलबाट तान्न सम्भव भएकाले दिपायल सिलगढी नगरपालिकामा एमालेको अवस्था सुदृढ रहेको अनुमान गर्छन्। ‘सबै स्थानीय तहमा हामी सहज जितका साथ वर्चश्वमा छौैंं’, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्लले भन्नुभयो– ‘पार्टीका असन्तुष्ट साथीहरू सबै हार्दिकता साथ खटेका छन्, कमजोर भनिएका ठाउँमा अहिले निकै सुधार ल्याइसकेका छौं।’

डोटीमा कांग्रेस एमाले दुवै पक्षले एक–अर्काका कमजोरी खोज्दै चुनावी रणनीति बनाइरहेका छन्।

सायल गाउँपालिका, आदर्श गाउँपालिका र जोरायल गाउँपालिकालाई नेकपा एमालेले आफ्नो पकेट क्षेत्रका रूपमा लिएको छ। पूर्वी चौकी, केआई सिंह र बड्डीकेदार गाउँपालिकालाई नेपाली कांग्रेसले सुनिश्चित जितका रूपमा आँकलन गरेको छ। माओवादी केन्द्रले भने बोगटान गाउँपालिकामा जित हासिल गर्ने दाबी गरिरहेको छ। ‘३ कांग्रेस, ३ एमालेको लगभग पक्का पक्कीजस्तै हुन्’, दीपायलका स्थानीय तथा समाजसेवी घास्यादत्त पाठकले भन्नुभयो– ‘यद्यपि कांग्रेस एमाले दुवैले कमजोर क्षेत्रमा विगतभन्दा सुधार भने गर्दै लगेका छन्।’ दीपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा भने कसले जित्ने भन्ने अनुमान लगाउन कठिन छ। कांग्रेस एमाले बीच निकै कडारूपमा प्रतिस्पर्धा हुने देखिएको स्थानियबासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्