बल्ल मतदाता परिचयपत्र



 

काठमाडौं, (नेस)
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आइतबार शुरू गरिएको छ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय वितरण शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले ४ हजार ५ सय ८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिरहेका छन्।

मतदाता परिचयपत्र असार १३ गतेसम्म वितरण गरिनेछ। दोस्रो चरणको निर्वाचनमा कुल मतदाता ६४ लाख ३२ हजार ७ सय ६५ जना रहेका छन्।

मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसंकेत गर्न सिकाउन हरेक मतदान केन्द्रमा कम्तीमा १ जना मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्रमा मत संकेत गर्न सिकाउनुका साथै मतदातालाई मत संकेत गर्न सजिलो होस् भन्ने उद्देश्यले सक्कली मतपत्रसमेत मतदान केन्द्रमा अवलोकनका लागि राखिएको छ।

मतदाता परिचयपत्र लिन जाँदा मतदाता आफैं जानुपर्ने आयोगले जनाएको छ। ‘मतदाता परिचयपत्र लिन आफैं जान नसक्ने अवस्थामा एकाघरको परिवारको सदस्य भएको यकिन गरी एकाघरका परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको छ’ –सहसचिव शर्माले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्