मनोरञ्जन क्षेत्रका महिला असुरक्षित



 

काठमाडौं, (नेस)
मनोरञ्जन क्षेत्रमा क्रियाशील महिलाहरूले आफ्नो पूर्ण व्यवसायिक सुरक्षा हुन नसकेकोमा दुःखेसो व्यक्त गरेका छन्। विश्वास नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रेष्टुरेन्ट, डान्स, दोहोरी, क्याबिन तथा साना होटलमा कार्यरत महिलाहरूले व्यवसायिक सुरक्षाको माग गरेका हुन्।

नियुक्तिपत्र, परिचयपत्रबिनै थोरै तलबमा काम गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए। मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा बालबालिकाहरूका लागि क्रियाशील विश्वास नेपालका अनुसार हाल सञ्चालित अधिकांश रेस्टुरेन्टहरू नवीकरणसमेत नगरी सञ्चालन गरिएकोे देखिएको छ। विश्वास नेपालकी कार्यकारी निर्देशक बालकुमारी रानाले मनोरञ्जन क्षेत्र आफैं व्यवस्थित नहुनु र नियमनकारी निकायको बेवास्ता गर्नुले महिलाहरू झन्झन् प्रताडित हुने क्रम बढेको बताउनुभयो।

मनोरञ्जन क्षेत्रका महिलाहरू श्रम र यौन दुवैको शोषणमा परेका छन्। यस्तो शोषणबाट उनीहरूमा कानुनी प्रक्रियामा अगाडि बढाउन आवश्यक कागजातको अभाव हुने, बाह्य बेचबिखनको उच्च जोखिम रहने, सामाजिक सम्मान र इज्जत नपाउने, कम उमेरमै विवाह र असुरक्षित गर्भ पतन गर्न बाध्यहुनेलगायतका असर देखिन थालेको छ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मानसिक समस्यामा परेका महिलाहरूलाई मनोविमर्श तथा शारीरिक शोषणमा परेकाहरूको कानुनी उपचारमा संस्थाले सहजीकरण गरिरहेको बाउनुभयो।

प्रतिक्रिया दिनुहोस्