अन्योलमा शेयर बजार



 

नेपाल समाचारपत्र
काठमाडौं
निरन्तर ओरालो लागेको शेयर बजारले गत साताको अन्तिम दुई दिनमा भने केही सुधार आउने संकेत देखायो। गत साता नेप्से परिसूचकमा तलमाथि भइरहँदा लगानीकर्तामाझ भने शेयर बजारको भविष्यबारे अन्योलता छाएको छ।

शेयर बजार गत साता अघिल्लो साताको अन्तिम दिनको तुलनामा ३० दशमलब १ अंकले कमी आयो। नेप्से परिसूचक अघिल्लो साता २५ दशमलब ६ अंकले घटेको थियो। यद्यपि, सातको अन्तिम दुई दिन कारोकार रकम र परिसूचक दुवै बढ्नुले लगानीकर्ताको मनमा भने प्रश्नचिन्ह उब्जाएको छ।

गत साताको पहिलो दिन १ हजार ५ सय ८९ दशमलब ५९ अंकबाट शुरू भएको शेयर बजार परिसूचक अन्तिम दिनसम्म आइपुग्दा ३० दशमलब १ अंकले घटेको हो। नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १ हजार ५ सय ५९ दशमलब ४९ को विन्दुमा आएर रोकिएको हो।
साताको पहिलो तीन दिन भारी मात्रामा ओरालो लागेको बजार परिसूचकले बुधबार र बिहीबार भने सुधारको संकेत देखाएको थियो। गत साताको पहिलो र दोस्रो दिन बजार परिसूचक क्रमशः १३ दशमलब ६१ र २० दशमलब ८२ अंकले घटेको थियो। बुधबार ३ दशमलब ६२ अंक र बिहीबार ४ दशमलब ८० अंकका सामान्य अंकले बढ्दै बजारले साताका पछिल्ला दिन आशा देखाए पनि परिसूचक समग्रमा बढ्न नसकेको हो। मंगलबार बजार ४ दशमलब शून्य ९ अंकले घटेको थियो।

गत साता सबै समूहको परिसूचक ओरालो लागे। घट्नेमा बीमा समूह सर्वाधिक १ सय ८८ दशमलब ७३ अंकले घट्यो। गत साता पनि यो समूह १ सय ७४ दशमलब १९ अंकले ओरालो लागेको थियो। साताको कारोबार अवधिमा १ सय ६४ कम्पनीका कूल २५ हजार ८ सय ५८ कारोबार भए। यस अवधिमा ५२ लाख ९२ हजार ६० कित्ता शेयर २ अर्ब ९६ करोड १९ लाख २० हजार रुपियाँमा किनबेच भए। कारोबार रकम गत साताको भन्दा शून्य दशमलब शून्य २ प्रतिशत कम हो। गत साता १ सय ६१ कम्पनीका ४९ लाख ८ हजार ६० कित्ता शेयर २ अर्ब ९६ करोड २५ लाख २२ हजार रुपियाँमा कारोबार भएका थिए।

यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ७६ अंकले घटेर ३३० दशमलब ९० अंकमा आइपुगेको छ।

कारोबार रकमको आधारमा यस साता एभरेस्ट बैंक अग्रस्थानमा रह्यो। बैंकका कूल ३० करोड ६ लाख ८० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो। कारोबार भएको शेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किमले शीर्ष स्थान ओगटेको छ। यस अवधिमा कम्पनीका दुई लाख १५ हजार कित्ता कित्ता शेयर कारोवार भए।

त्यसैगरी कारोबार संख्याको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकको कूल २ हजार ८ सय २ वटा बारोबार भएका थिए। साताको पाँचै दिन खुल्ला रहेको गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।

साताभरि ५ कम्पनीका ३ करोड ९९ लाख ९६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्। सूचीकृत हुने हकप्रद शेयर नेको इन्स्योरन्स, सानिमा बैंक र कुमारी बैंकका रहेका छन्। नेको इन्स्योरन्सका ३२ लाख ४० हजार ४ सय ३६ दशमलब ३२, सानिमा बैंकका १ करोड ५७ लाख ६ हजार ५ सय ७० र कुमारी बैंकका १ करोड ३४ लाख ९५ हजार ७ सय ३२ दशमलब ६६ कित्ता हकप्रद शेयर नेप्सेमा कारोबार भए।

त्यस्तै सूचीकृत हुने बोनस शेयरमा नेको इन्स्योरन्सको ६ लाख ४८ हजार ८७ दशमलब २६ कित्ता, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका ७ लाख १२ हजार ८ सय कित्ता र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलब ६६ कित्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्