जुनियर गल्फ डेभलपमेन्ट शुरू



 

काठमाडौं, (नेस)
नेपालगल्फ संघको आयोजना र इन्टरनेसनल सोसाईटी फर मेडिकल एजुकेसन (आईएसएमई)द्वारा प्रायोजित सिएमएस जुनियर गल्फ डेभलपमेन्ट कार्यक्रम शनिबारदेखि शुरु भएको छ।

जुनियर गल्फमार्फत राष्ट्रिय स्तरको खेलाडी खोजको प्रमूख उद्देश्यका साथ नेपालगल्फ संघले यो महत्वाकांक्षी कार्यक्रमको शुरुआत रोयल नेपाल गल्फ क्लवबाट गरेको हो। पहिलो दिन प्रारम्भिक चरणका २५ खेलाडी प्रशिक्षणमा सहभागी भए। तर काठमाडौंको ट्रेनिङ क्याम्पमा ५० देखि ६० खेलाडीको सहभागिता रहने नेपाल गल्फ संघले जनाएको छ।

यो क्याम्पको नेतृत्व प्रमूख प्रशिक्षक प्रो गल्फर दीपक थापा मगरले गर्नेछन्। अन्य दुई प्रशिक्षकमा रमेश नगरकोटी र सचिन भट्टराई रहेका छन्। पहिलो दिन जुनियर गल्फरहरूलाई सिएमएस जुनियर गल्फ डेभलपमेन्ट कार्यक्रमको जानकारी दिइयो। जुनियर गल्फरहरूले शनिबारबाटै प्रशिक्षण शुरु गरेका छन्। यो प्रशिक्षण प्रत्येक साताको शनिबार निःशुल्क सञ्चालन हुनेछ। प्रशिक्षणमा चाहिने सम्पूर्ण सुविधा नेपाल गल्फ संघले उपलब्ध गराउनेछ। प्रशिक्षण ४३ सातासम्म चल्नेछ।

नेपाल गल्फ संघले काठमाडौंसँगै धरान र पोखरामा पनि यो कार्यक्रम संचालन गर्नेछ। पोखरा र धरानमा ३०–३० जना जुनियर गल्फर सहभागि हुने अपेक्षा गरिएको छ। ४३ साताको प्रशिक्षण दौरान काठमाडौंमा चार तथा धरान र काठमाडौंमा ३–३ वटा क्षेत्रीय प्रतियोगिता सञ्चालन हुनेछ। अन्त्यमा तीनै प्रशिक्षण केन्द्रका उत्कृष्ट जुनियर गल्फरहरूबीच अन्तिम प्रतियोगिता गरी प्रतिभावान् गल्फर छनोट गर्ने योजना संघको छ। जुनियर ट्रेनिङ क्याम्पको प्रमूख उद्देश्य प्रतिभावानसँगै विपन्नवर्गका जुनियर खेलाडीहरूलाई अवसर दिनु पनि हो।

यो प्रशिक्षणमा १६ वर्ष मुनिका खेलाडीहरू सहभागी हुन पाउनेछन्। तीनवटै प्रशिक्षण केन्द्रमा एकैखाले प्रशिक्षण सञ्चालन गरिनेछ। जुनियर गल्फ विकासको महत्वाकांक्षी कार्यक्रमको पहिलो दिन नेपालगल्फ संघका अध्यक्ष टासी घले र नेपालगल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्यको उपस्थिति रहेको थियो। सयभन्दाबढी जुनियर गल्फरबाट प्रतिभाशाली खेलाडीहरू छनौट गरी राष्ट्रिय टिम निर्माण गर्ने योजनासहित शुरु भएको सीएमएस जुनियर गल्फविकास कार्यक्रम छिट्टै धरान र पोखरामा पनि शुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्