सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्न आग्रह



 

नेपाल समाचारपत्र
काठमाडौं
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुग्नुभएका दाहाललाई कञ्चनपुरका स्थानीयबासीले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटे पनि सुदूरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए।

स्थानीयबासीको गुनासो सुनेपछि उहाँले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नुभएको थियो। शनिबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदूरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गर्नुभएको थियो। भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्