रत्नपार्कबाट २ करोड आम्दानी



 

हेमन्त जोशी, काठमाडौं

कुनै बेला रत्नपार्क भन्ने बित्तिकै अस्तव्यस्त फुटपाथ पसल र देहव्यापारीको अखडा भन्ने आमबुझाई थियो। तर, अहिले यसको परिचय फेरिएको छ। काठमाडांैं महानगरपालिकाले आर्थिक वर्ष २०७२⁄७३ मा करिब ८० लाख रुपियाँको लागतमा पुनर्निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएसँंगै आम्दानी पनि गतिलै गरिरहेको छ।

गर्मी बढेसंँगै पार्कमा गएर रमाउनेको संख्या पनि बढ्दो छ। साधारण व्यक्तिका लागि २५ रुपियाँ र विद्यार्थीका लागि छुटमा १५ प्रतिशत शुल्क निर्धारण गरिएको रत्नपार्कमा गत जेठ महिनामा मात्र साढे ११ लाख रुपियाँ संकलन गरेको छ। महानगरपालिकाअन्तर्गतको रत्नपार्क तथा रानी पोखरी एकाई कार्यालयको तथ्यांकअनुसार जाडो महिनामा दैनिक करिब १५ देखि २० हजार र गर्मी महिनामा २५ देखि ३० हजार रुपियाँ संकलन हुने गरेको छ।

महानगरपालिकाले २०७२ असार १५ बाट रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेपछि चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १ करोड ७९ लाख ७२ हजार रुपियाँभन्दा बढी राजस्व संकलन गरेको रत्नपार्क तथा रानीपोखरी एकाई कार्यालय प्रमुख हरिशरण केसीले बताउनुभयो। पछिल्लो २ वर्षमा प्रवेश शुल्कमार्फ्त १ करोड ७६ लाख ७४ हजार ६ सय ९५ रुपियाँ छायाँकन शुल्कमार्फत् २ लाख ६३ हजार ५ सय रुपियाँ र ब्याजमार्फत् १३ हजार रुपियाँ संकलन भएको एकाई कार्यालयको तथ्यांकमा उल्लेख छ।

रत्नपार्कमा प्रवेश गर्नका लागि ४ वटा छुट्टाछुट्टै दरका टिकटको व्यवस्था रहेको कार्यालय प्रमुख केसीले बताउनुभयो। साधारण टिकट २५ रुपियाँ, विद्यार्थी टिकट १५ रुपियाँ, एसियाली मुलुकका नागरिकलाई ५० रुपियाँ र विदेशीलाई ७५ रुपियाँ प्रवेश शुल्क रहेको छ। तर, शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशुल्क पाउँछन्।

रत्नपार्क परिसरभित्र म्युजिक भिडियो र चलचित्र छायांकनका गर्न परेमा शुल्क तिर्नपर्छ। उक्त छायांकन शुल्क निर्धारणका लागी पनि एकाईले निश्चित मापदण्ड तोकेको छ। सानो म्युजिक भिडियो छायाँंकनका लागि दिनको ४ हजार, टेलिचलचित्रका लागि ५ हजार, ठूलो चलचित्रका लागि ७ हजार र विदेशी चलचित्र छायांकनका लागि १० हजार रुपियाँ शुल्क निर्धारण गरेको छ।
महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभाग र रत्नपार्क तथा रानीपोखरी एकाईमा मात्र अहिले १६ जनाले रोजगारी पाइरहेका छन्। दैनिक सरसफाईका लागि ४ जना, बगैंचामा ६ जना, र प्रशासन र सरक्षामा ६ जनाले काम गरिरहेका छन्।

चालू आर्थिक वर्षमा पार्क व्यवस्थापन तथा भौतिक संरचना निर्माणका लागि महानगरपालिकाले २० लाख रुपियाँ बजेट छुट्याएकोमा करिब ११ लाख रुपियाँको लागतमा पार्कभित्रै व्यवस्थित शौचालय निर्माण गरिएको केसीले बताउनुभयो। त्यस्तै पार्कभित्र रङरोगन र दुबो बिच्छ्याउने लगायतका काममा उक्त रकम खर्चे भएको केसीले बताउनुभयो। त्यस्तै आगामी आर्थिक वर्षका लागि पनि २० लाख रुपियाँ नै विनियोजन भएको केसीले जानकारी दिनुभयो। आगामी आर्थिक वर्षमा पानी पर्दा ओत लाग्नका लागि २ वटा नयाँ सेडको निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ। साथै आगामी एक वर्षसम्ममा कुनै पनि शुल्कदर हेरफेर गर्ने पक्षमा महानगर रहेको केसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्