कस्तो छ टेक्नोलोजी कम्पनीको आयस्रोत ?



 

काठमाडौं, (नेस)
प्रविधिले ठूलो फड्को मारेको छ। संसारलाई एउटै गाउँजस्तै बनाउने प्रविधि ल्याउनेमा कम्पनी एप्पल, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन, फेबसबुक सबैको मनमा आउँछन्। यी सबै कम्पनीले डिजिटल उत्पादन तथा सेवा प्रवाहका माध्यमबाट अर्बाैं डलर आम्दानी गर्ने गर्छन्। ती कम्पनीको आम्दानी स्रोत के हो भन्ने झन् सबैको मनमा प्रश्न उठ्ने गर्छ।

माइक्रोसफ्ट
अमेरिकाको रडमन्ड शहरमा रहेको माइक्रोसफ्ट सर्वाधिक आम्दानी गर्ने कम्पनीमा पर्छ। माइक्रोसफ्टको २८ प्रतिशत आय संसारमै सर्वाधिक प्रयोग हुने माइक्रोसफ्ट अफिस (माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट आदि) बाट उठ्ने कम्पनीको भनाइ छ। त्यस्तै कम्पनीको कूल आयको २२ प्रतिशत विइन्डोज सर्भर र एज्युरेबाट उठ्छ। माइक्रोसफ्टको अनुसार एक्सबक्स डिभिजन, विइन्डो अपरेटिङ सिस्टम (ओएस), बिङ र विज्ञापनबाट कम्पनीको कूल आयको क्रमशः ११, ९, ७ र ५ प्रतिशत उठ्छ। कम्पनीले बाँकी १८ प्रतिशत आयको स्रोत ‘अन्य’ मा राखेको छ।

एप्पल
एप्पलको आयको सबैभन्दा ठूलो स्रोत आइफोन रहेको कम्पनीले जनाएको छ। आईफोनले कम्पनीको कूल आयको ६३ प्रतिशत हिस्सा ओगट्छ। त्यस्तै एप्पलको आयमा आइप्याड र आइम्याकको योगदान क्रमशः १० र ११ प्रतिशत छ। एक्सेसरिजबाट एप्पलको ५ प्रतिशत आम्दानी उठ्छ भने आइक्लाउड, एप्पल म्युजिक, आईट्युनलगाएत सेवा रहेको आम्दानीले एप्पलको कूल आयको ११ प्रतिशत हिस्सा ओगट्छ।
अल्फाबेट
अल्फाबेट गुगलको प्यारेन्ट कमपनी हो। अल्फाबेटले आफ्नो कूल आयको ८८ प्रतिशत विज्ञापनबाट कमाउँछ। अल्फाबेटको विज्ञापन माध्यम गुगल एडवर्ड र युटुब हुन्। त्यस्तै गुगल प्ले सर्भिस र पिक्सेल उत्पादनले अल्फाबेटको आयको ११ प्रतिशत योगदान गर्छन्। त्यस्तै बाँकी १ प्रतिशत आय अन्य कम्पनीका नेस्ट, भेरिली तथा गुगल फाइबरलगायत सेवाबाट उठ्छ।

फेसबुक
सामाजिक सञ्जाल फेसबुकले आफ्नो आयको सबैभन्दा धेरै हिस्सा विज्ञापन र क्लिकबाट कमाउँछ। यी दुई क्षेत्रले कम्पनीको कूल आयको ९७ प्रतिशत हिस्सा ओगट्छन्। बाँकी ३ प्रतिशत आय ‘अन्य’ भित्र राखिएको कम्पनीले जनाएको छ।

अमेजन
अमेजन संसारकै सर्वाधिक ठूलो इ–कमर्स कम्पनी हो। अमेजनले आफ्नो कूल आयको ७२ प्रतिशत हिस्सा अनलाइन सपिङ विजनेसबाट कमाउँछ। अमेजन प्राइमलगायतका सेवाबाट कम्पनीको १८ प्रतिशत आय उठ्ने उल्लेख छ। त्यस्तै अमेजन वेव सर्भिसले कम्पनीको आयमा ९ प्रतिशत योगदान गर्छ। कम्पनीले बाँकी १ प्रतिशत आयको स्रोत ‘अन्य’ भित्र राखेको छ।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्