अवरोध तत्काल हटाऊ



 

२ वर्षअघिको महाभूकम्पले काठमाडौं उपत्यकाका ३ वटै दरबार क्षेत्रका सम्पदालाई ठूलो क्षति पुर्यायो । ठूलै बहस र चर्चापछि सम्पदा क्षेत्रका संरचनाको निर्माण अघि बढेको छ, तर अधिकांश सम्पदाको निर्माणकार्य सुस्त ढंगमा भइरहेको छ । निर्माणकार्यमा भइरहेको सुस्तता नियाल्न काठमाडौंको वसन्तपुर पुगे पर्याप्त हुन्छ । सो क्षेत्रमा दश अवतार मन्दिर निर्माणको ठेक्का भएको ६ महिना अघि हो, हनुमानढोका दरबार संग्रहालय, काष्ठमण्डप, लक्ष्मी नारायण, दशअवतार मन्दिरलगायतका मुख्य सम्पदाको समेत हालत उस्तै छ ।

हनुमानढोका दरबार क्षेत्र विकास समितिले वसन्तपुर आसपासका स्थानीयले ठेक्कापट्टाबाट सम्पदा पुनर्निर्माण गर्न नदिने अडान राखेपछि सम्पदा पुनर्निर्माणले गति लिन नसकेको जनाएको छ । विकास समिति, हनुमानढोका संग्रहालय र पुरातत्व विभागको वेवास्ताले गर्दा गतिरोध सिर्जना भएको हनुमानढोका सम्पदा संरक्षण संघर्ष समितिका पदाधिकारीको दावी छ । ठेक्का पट्टा रोकेर स्थानीयको सहभागितामा पुनर्निर्माण कार्य अघि बढाइनुपर्ने संघर्ष समितिले अडान लिँदै आएको छ । पाटन र भक्तपुरका सम्पदा पुनर्निर्माणमा स्थानीयको सहभागीता रहेको उदाहरण वसन्तपुर क्षेत्रमा पनि कार्यान्वयन हुनुपर्ने संघर्ष समितिका पदाधिकारी बताउँछन् । तर हनुमानढोका संग्रहालयका अधिकारीहरु भने छिट्टै समस्या समाधान हुने र पुनर्निर्माणले गति लिने दाबी गर्छन् ।
२ वर्ष अघिको महाभूकम्पले काठमाडौमा ५० आंशिक र १ सय ४७ सहित २ सय ४१ सम्पदालाई पूर्णरुपमा प्रभावित पारेको थियो। त्यसैगरी ललितपुरमा १३ सम्पदा पूर्णरुपमा ध्वस्त भएका थिए भने २० वटा आंशिक र ८७ वटा क्षतिग्रस्त छन् । भक्तपुरमा १ सय ३० वटा सम्पदालाई असर पुर्याएको थियो ।

हनुमानढोका दरबार क्षेत्रभित्रका आगम छें र दरबारको मुख्य लङग जापान सरकारको सहयोगमा सञ्चालित नेसनल रिसर्च इन्टिच्युट फर कल्चरल प्रपर्टिज, हनुमानढोका दरबारबाहिरको जगन्नाथ र कृष्ण मन्दिर जापानिज फन्ट इन टस्ट, तलेजुको मुलद्वार नजिक रहेको कागेश्वर र सिंहढोका अमेरिकन संस्था काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) गद्दी बैठक जापानको मियोमोतो फाउन्डेसनको आर्थिक सहयोगमा गर्ने उल्लेख भएको थियो । दातृ निकायले प्रतिबद्धता जनाएअनुसार काम जारी राखेका छन् । तर सरकार स्वयंले जिम्मा लिएका सम्पदाको काम भने प्रायः ठप्प छ ।

सम्पदा मुलुकका गहना हुन्, कला र संस्कृति बुझाउने धरोहर हुन् । देशलाई राष्ट्रिय⁄अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने गतिला माध्यम पनि हुन्, सम्पदाको पुनर्निर्माण मौलिक पहिचानका साथ अघि बढाइनुपर्छ । सोहीअनुसार भूकम्पपछिको निर्माणकार्य पनि अघि बढाइएको छ, तर निर्माणमा छाएको सुस्तताले पक्कै पनि राष्ट्रिय⁄अन्तर्राष्ट्रिय रुपमा गतिलो सन्देश दिँदैन । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमान ढोकाका सम्पदा मात्र होइन, अन्यत्रका सम्पदाको पनि बिनाअवरोध निर्माणकार्य अघि बढाइनु्पर्छ । त्यसैले सम्पदा पुनर्निर्माण कार्यमा छाएको सुस्तता हटाउन पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाले हातेमालो गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्