दिल्लीबाट नेपाली चेलीको उद्धार



 

सीताराम चौधरी, कृष्णनगर
धनको प्रलोभनमा परी झण्डै दुई साताअघि भारतको दिल्ली पुर्याइएकी एक नेपाली किशोरी नेपाल फर्किएकी छन्।

कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराई नेतृत्वको टोली भारतको दिल्ली पुगी किशोरीको उद्धार गरी नेपाल फर्काएको हो।

उद्धार गरिएकी किशोरी नवलपरासी हुप्सेकोट गाउँपालिका ७ बस्ने २४ वर्षीय धनमाया (नाम परिवर्तन) रहेकी छन्। सानैमा बाबुआमाबाट बिछोडिएकी धनमाया दाजुभाउजुको काखमा हुर्किएकी हुन्। कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएकी धनमाया गैंडाकोटमा काम गर्दै आएकी थिइन्।

लामो समयदेखि गैडाकोटमै काम गरी बसेकी धनमाया एक विचौलियाको प्रलोभनमा भारतमा बेचिन पुगिन्। घर जान्छु भनी गैंडाकोटबाट हिँडेकी धनमायालाई एजेन्टले राम्र काम लगाइदिने प्रलोभन देखाई दिल्लीको एक होटलमा पुर्याएको पीआरसी संयोजक भट्टराईले जानकारी दिनुभयो।

दिल्लीबाट कसैको फोनबाट गैंडाकोट घरबेटीलाई मलाई बचाउनुस् भनी फोन गरेपछि मात्र बेचिएको थाहा भएको भट्टराईले बताउनुभयो। घरबेटीले दिल्लीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रलाई फोन गरी उद्धारका लागि गुहार मागेको बताइएको छ। त्यो संस्थामार्फत काठमाडौंमा रहँदै आएका देबेन्द्र भट्टराईलाई खबर आएको र भट्टराईमार्फत पीआरसीका भट्टराईले पाएको जानकारीअनुसार दिल्ली पुगेर किशोरीको उद्धार गरेको बताइएको छ।

उद्धार गरी नेपाल फर्काइएकी धनमायालाई अहिले पीआरसी कृष्णनगरको सुरक्षित गृहमा राखिएको भट्टराईले बताउनुभयो। किशोरीलाई आइतबार नवलपरासी लगी परिवारको जिम्मा लगाउने उहाँले बताउनुभयो। किशोरीलाई भारत पुर्याउने विचौलिया विरुद्ध अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्