गुट र बागी उम्मेदवारले कांग्रेसलाई समस्या



 

उत्तम नेपाल, भद्रपुर
आसन्न दोस्रो चरणको स्थानीय तहको चुनावमा झापाको भद्रपुर नगरपालिकामा कुन पार्टीका उम्मेदवारले बाजी मार्लान् भनी नगरबासीदेखि केन्द्रीय नेतासम्मले चासो देखाएका छन््। भद्रपुरमा ४स्वतन्त्रसहित १० जना मेयरमा र ९ जनाले उपमेयरमा उम्मेदवारी दिएका छन्। भद्रपुर नगरपालिका २००८ सालको नगरपालिका हो। मेची अञ्चलकै जेठो र नेपालकै दोस्रो पुरानो नगरपालिकाका रूपमा रहेको भद्रपुरको विगतको अवस्था हेर्ने हो भने भद्रपुरलाई राजनितिक उर्भरभूमिका रूपमा पनि लिने गरिएको छ।

झापा क्षेत्र नम्बर ३ मा पर्ने भद्रपुर हाल साविक चन्द्रगढी, महेशपुर र पृथ्वीनगर गाविस मिलेर बृहत् नगरपालिका बनेको छ। भद्रपुरको जनसंख्या ६५ हजार ५ सय ४३ मध्ये १० वडामा मतदाता संख्या ४२ हजार ५७ रहेको छ। बृहत् नगरपालिका भएलगत्तै स्थानीय तहको चुनावको मिति घोषणापछि चुनाव लड्न दलका नेतालाई टाउको दुखाइको विषय बनेको छ। भद्रपुरमा पृथ्वीनगर मिलेपछि दललाई मत जुटाउन झन् सकस भएको छ। अहिले दलहरू आफ्नो पकड बनाउन मतदाताको घरघर पुग्न थालेका छन्। उनीहरू मतदातालाई विभिन्न आश्वासन बाँड्न पनि पछि परेका छैनन्। भद्रपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा मुख्य प्रतिस्पर्धामा छन्। मधेसी दल र स्वतन्त्र उम्मेदवार पनि उनीहरूलाई पछ्याइरहेका छन्। भद्रपुरमा मेयर जित्न अहिले सबै दलले आ–आफ्नो शक्ति प्रयोग गरिरहेका छन्। कोही भोज खुवाइरहेका छन् भने, कोही मतदाता किन्न खोजिरहेका छन्। तर, स्थानीय तहको नेतृत्व सक्षम व्यक्ति खोजीको पर्खाइमा मतदाता रहेको पनि बुझिन्छ। भद्रपुरमा यसपटक वडामा कुनै पनि प्यानल नजित्ने सम्भावना देखिएको छ।

भद्रपुर नगरपालिका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर हो। सिटौला यही क्षेत्रबाट २०७० सालको संविधानसभाको निर्वाचनमा विजयी भएका थिए। चुनावमा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी चौथो स्थानमा आएका थिए। त्यसैले भद्रपुरमा सिटौला पक्षको हावी छ। सिटौलाले आफ्नै पकडको नेता गणेश पोखरेललाई मेयरमा उम्मेदवार बनाएका छन्। पोखरेललाई मेयरसहित वडाध्यक्षमा आफूखुसी टिकट दिएपछि कांग्रेसको एक गुटले असन्तुष्टि जनाइसकेका छन्। कांग्रेसभित्रै अन्तरघात हुने देखिएपछि नेता सिटौला भद्रपुरमा बसेर चुनावी रणनीति बनाइरहेका छन्। कांग्रेसबाटै जगदीश काफ्लेले मेयरमा बागी उम्मेदवारी दिएका छन्। गुट र बागी उम्मेदवारले कांग्रेसलाई झ्न समस्यामा पारेको देखिन्छ। पोखरेललाई मेयरमा जिताउन सिटौला मधेसी दलसँग आन्तरिक तालमेल बनाएको बजारमा चर्चा चुलिएको छ। तीन गाविस मिल्नु अघि भद्रपुर कांग्रेसकै गढ रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। भद्रपुर कांग्रेसकै गढ मानिए पनि अहिलेसम्म स्थानीय निकायको चुनावमा कांग्रेसले मेयर र उपमेयर जितेका छैनन्। त्यसैले कांग्रेसले यसपटक मेयर जित्ने दाउमा अरू दलका कार्यकर्तालाई मिलाउन पनि पछि हटेका छैनन्।

भद्रपुरमा समावेश भएको साविक पृथ्वीनगर र चन्द्रगढी गाविस एमालेको गढ मानिन्छ। एमालेले जीवनकुमार श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ। २०५४ सालमा स्थानीय चुनावमा श्रेष्ठ एमालेबाटै भद्रपुरमा उपमेयरमा जितेका थिए। श्रेष्ठलाई माधवकुमार नेपालको पक्षको कार्यकर्ता भए पनि केपी शर्मा ओलीले टिकट दिएपछि ओली पक्षका कार्यकर्ता भित्री रूपमा असन्तुष्ट रहेको चर्चा छ। संविधानसभाको चुनावमा एमाले तेस्रो स्थानमा झरेपछि कार्यकर्तामा तीव्र असन्तुष्ट छाएको थियो। एमालेका कार्यकर्ताले मेयरमा अन्तरघात गर्ने एक खाले चर्चा पनि बजारमा चलेको छ। चन्द्रगढीबाट दुर्गाप्रसाद भट्टराई मेयरमा स्वतन्त्र उम्मेदवार बनेपछि एमालेलाई थप समस्या परेको छ। त्यसै गरी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले मेयरमा टिकट पाएसँगै पृथ्वीनगर क्षेत्रको मत पनि एमालेको काट्ने अर्को अड्कल कार्यकर्ताबीच चलेको पाइन्छ। पृथ्वीनगरका स्थानीय राजभण्डारीको पकड पनि राम्रो बन्दै गइरहेको छ। उनले कांग्रेस र एमालेलाई कडा टक्कर दिने बुझिएको छ। उनले शिक्षण पेसा छाडेर राजनीतिमा होमिएकाले स्थानीयले चासोका साथ हेरेका छन्। अर्कोतर्फ केही महिना अघि कांग्रेसबाट पार्टी परित्याग गरी राप्रपामा गएका नवराज पनेरु (राजु) लाई राप्रपाले मेयरमा टिकट दिएपछि भद्रपुरको राजनीति झन् चासोको विषय बन्दै गएको छ।

विभिन्न पार्टीबाट असन्तुष्ट बनेका र भद्रपुरका केही ठूला उद्योगीले राजुलाई आशीर्वाद दिएपछि पनेरुको चर्चा बजारमा पछिल्लोपटक उचाइमा पुगेको पाइन्छ। पछिल्लो समयमा कांग्रेस र एमाले पार्टी परित्याग गरेका कार्यकर्ता राप्रपामा प्रवेश गर्न थालेपछि भद्रपुरमा कांग्रेसलाई राप्रपाले थप चुनौती दिएको छ। चुनाव नजिकिएसँगै राप्रपाले भद्रपुरसहित पृथ्वीनगर क्षेत्रमा आफ्नो पडक बलियो बनाएको चर्चा छ। नगरमा कांग्रेस र एमालेको जुधाइमा राप्रपाले बाजी मार्लान् कि भन्नेहरू भेटिएका छन्। अन्य पार्टीको आन्तरिक कलहका कारण राप्रपालाई फाइदा हुन सक्ने भद्रपुरका केही राजनैतिक शास्त्रीहरूले अनुमान लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्