पाल्पामा चुनावी प्रचार तीव्र



कविराज नेपाल, पाल्पा
दोस्रो चरणको निर्वाचन असार १४ गते नजिकिँदै जाँदा पाल्पा जिल्लामा चुनावी प्रचारको गति तीव्र हँुदै गइरहेको छ। करिब दुई महिना अघिदेखि नै निर्वाचनका विभिन्न गतिविधि अघि बढाएका दलले चुनावी मिति नजिकिदै जाँदा आफ्नो पकड क्षेत्रलाई भन्दा विपक्षीको राम्रो प्रभाव भएको क्षेत्र रोजेर निर्वाचनका लागि घरदैलो र मतदान गर्ने तरिका सिकाउँदै चुनावी सभा गरी कार्यक्रमलाई तीव्रता दिएका हुन्। दलहरूले घरदैलोको क्रममा मतदाताहरूसँग ५ वर्षभित्र गर्ने विकास निर्माणका योजनाहरू प्रस्तुत गर्दै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

२ नगरपालिका र ८ वटा गाउँपालिका रहेको पाल्पामा ११ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराए तापनि आसन्न निर्वाचनमा ७ दलले मात्र उम्मेदवारी दिई सहभागिता जनाएका छन्। खास गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र राप्रपा, जनमोर्चा र जनमुक्ति पार्टीले प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम आयोजना गरी मतदातासमक्ष आ–आफ्ना योजना तथा घोषणापत्र प्रस्तुत गरी आकर्षित बनाउन थालेका छन।
चुनावी मुद्दालाई सम्बोधन गर्ने क्रममा जिल्लाका ठूला दलदेखि साना दलले समेत खानेपानी, सडक, ढल, पर्यटन विकास तथा सीमान्तकृत समूहलाई प्राथमिकता दिँदै भोट माग्ने र मतदाता आकर्षित गर्ने गरेका छन।

नेपाली कांग्रेसको तर्फबाट तानसेन नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका अजयमान कर्माचार्यले आफू मेयरमा विजयी भएमा पहिलो निर्णय अल्पसंख्यक, दलित जनजाति महिलाका लागि नगरपालिकाको तर्फबाट निःशुल्क रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बताउँछन्। तानसेनलाई सफा सुन्दर र आधुनिक शहरका रूपमा विकास गर्ने मेयर पदका उम्मेदवार कर्माचार्यले प्रतिबद्धता जनाएका छन्।

त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार अशोककुमार शाही तानसेनलाई पहाडी क्षेत्रकै नमुना आधुनिक शहरको विकास गर्ने, ५ वर्षभित्र उपमहानगरपालिका रूपमा तानसेनलाई रूपान्तरण गर्ने आफ्नो योजना भएको बताउँछन्। उनले तानसेन एक घर परिवारमा एक शेयरको अभियान शुरू गरी नगरबासीकै लगानीमा, रुरु क्षेत्रमा जलविद्युत् योजना सञ्चालन गरी तानसेनलाई विद्युत्मा आत्मनिर्भर बनाउने, रुरु क्षेत्र ऋषिकेश मन्दिरलाई नेपालको प्रमुख धार्मिक तीर्थस्थलका रूपमा विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार प्रतीक्षा सिंजालीले तानसेनलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त नगरका रूपमा विकास गर्ने, सेवा प्रवाहमा छिटो छरितो गर्ने, लैंगिक हिंसाको अन्त्य गरी विधुवा महिलालाई विशेष प्रकारको सुविधा प्रदान गर्ने, गाउँगाउँमा सिंहदरबारको अधिकार स्थापित गर्ने बताइन्।
राप्रपाका मेयर पदका उम्मेदवार रेवन्तबहादुर विष्टले तानसेनमा शान्ति स्थापना गरी नगरमा सुशासन कायम गर्न हिन्दु धर्मको रक्षा गर्न आपूmले उम्मेदवारी दिएको बताए। आफू मेयर पदमा विजयी भएमा आफ्नो सम्पूर्ण तलबभत्ता गरिब परिवारमा खर्च गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्