रुकुममा निबार्चनको सम्पुर्ण तयारी पुरा



धनवीर दाहाल, रुकुम ।

रुकुमको प्रदेश नं ५ मा रहेका ३ गाँउपालिकाको असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निबार्चनको सबै तयारी पुरा भएको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुमले जानकारी दिएको छ । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका ३१ मतदानस्थल तथा ३८ मतदान केन्द्रका लागि २ सय १८ जना कर्मचारी चुनावी सामग्री सहित सम्बन्धीत ठाँउमा गइसकेका छन् ।

बिहीबार, शुक्रबार र शनिबार बिहान गरेर सबै मतदान केन्द्रका कर्मचारीहरु ति स्थानीय तह तिर लागेका हुन् । सबैभन्दा टाढा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको कर्मचारीको टोली बिहीबार, त्यसपछि अलि नजिक रहेका मतदान केन्द्रमा परेका कर्मचारी शुक्रबार तथा शनिबार पुग्न सकिने मतदान केन्द्रका कर्मचारी शनिबार बिहान सम्बन्धित मतदानस्थल तथा केन्द्रमा हिँडेका छन् ।

३१ मतदान स्थलमध्य २७ मतदान स्थललाई अतिसंवेदनशील तथा ४ लाई संवेदनशीलको सूचीमा राखिएको छ । विभिन्न सूचकका आधारमा मतदानस्थलको जोखिम मापन गरिएको सोही मापनका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले बताउनुभयो । उहाँका अनुसार भौगोलिक विकटता, सञ्चारको पहुँच नपुगेका, थप सुरक्षा फोर्स पठाउन सकिने र नसकिने अवस्था, टाढाको दूरीमा रहेका मतदानस्थल, सडकको पहुँच नभएका र राजनीतिक दलको प्रतिस्पर्धाका आधारमा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलको पहिचान गरिएको हो । अति र संवेदनशील मतदान स्थलको सुरक्षा चुनौतीको सामना गर्न सुरक्षा निकाय तयार रहेको उहाँले बताउनुभयो ।

 

सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी गरी ८ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिनुभयो । तिन स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु गरी १६१ पद मध्यमा भुमे गाँउपालिकामा ५ सदस्य र पुथाउत्तरगंगामा १ सदस्य गरी जम्मा ६ पदमा निर्बिरोध निबार्चित भइसकेको र बाँकी १५५ पदमा ४१२ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निबार्चन अधिकृत डण्डपानी शर्माले बताउनुभयो ।

सिस्नेका ८, भूमेका ९ र पुथाउत्तरगंगा गाउँपालिकाका १४ गरी ३१ वडामा असार १४ मा निर्वाचन हुँदैछ । दोस्रो चरणमा निर्वाचन हुने ३ स्थानीय तहमा २४ हजार ४ सय ८१ मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी भूमेमा ८ हजार ५ सय ५५, सिस्नेमा ८ हजार ३ सय ६८ र पुथाउत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका छन् । संविधानमै रुकुमलाई २ प्रदेशमा राखिएपछि एउटै जिल्लामा २ पटक निर्वाचन हुन लागेको हो । यस अघिको पहिलो चरणको निर्वाचन वैशाख ३१ मा ६ नम्बर प्रदेशमा परेका ३ गाउँ तथा ३ नगरपालिकामा निर्वाचन भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्