मकवानपुरमा स्वास्थ्य बिमा असार १५ देखि



हेटौंडा,(नेस)

नागरिकको स्वास्थ्य उपचारमा आर्थिक जोखिम कम गर्ने उद्धेश्यले सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम मकवानपुरमा पनि सञ्चालन हुने भएको छ ।

सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले असार १५ गतेदेखि मकवानपुरमा स्वास्थ्य बिमा सुरु गर्न लागेको जनाएको छ ।

हेटौंडामा सरोकारवालाहरुसँग अन्तत्र्रिmया गर्दै समितिले जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिसकिएको जनाएको छ । भर्ना गरिएका कर्मचारीलाई पहिलो चरणमा असार ९ देखि ११ गतेसम्म ६६ जना र १२ देखि १४ सम्म ६२ जनालाई तालिम दिइनेछ ।

बिमाका लागि ५ जना सदस्य रहेको परिवारले वार्षिक २ हजार ५ सय रुपियाँमा तिर्नुपर्ने हुन्छ । थप सदस्यका लागि ४ सय २५ रुपियाँका दरले थप रकम भुक्तानी गर्नुपर्ने समितिका कार्यक्रम निर्देशक डा.गुणराज लोहनीले जानकारी दिए ।

बिमा गरेपछि एक वर्षमा बिमा गरेका परिवारका सदस्यले ५० हजार रुपियाँ बराबरको उपचार सेवा प्राप्त गर्ने डा. लोहनीले बताए ।

सरकारले उपलब्ध गराएको गरिबीको परिचयपत्र भएकाहरुले बिमा गराउँदा अतिगरिबले शत्प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सीमान्तकृत गरिबलाई ५० प्रतिशत बिमा रकम छुट गराइने व्यवस्था छ ।

बिमा गर्दा नागरिकले उपचारका लागि पहिलो छनौट सरकारी स्वास्थ्य संस्था हुनुपर्ने प्रावधान ल्याइएको छ । अन्यत्र उपचार गर्नुपरेमा सरकारी स्वास्थ्य संस्थाले रिफर गर्ने व्यवस्था गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

२०७२ चैतमा कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अछाम, बाग्लुङ, बर्दिया, कैलाली, कास्की, पाल्पा, म्याग्दी र इलाममा लागू भइसकेको छ । लागु भएका ८ जिल्लामा जेठसम्ममा ८४ हजार जनाले बिमा गरेको बताइएको छ । यसबाट ४ करोड २० लाख रुपियाँ संकलन भइसकेको जनाइएको छ ।

यस अवधिमा २५.४ प्रतिशत सदस्यले उपचार सेवा लिएको समितिले जनाएको छ । १ करोड ११ लाख ३५ हजार एक सय ५२ रुपियाँ सम्बन्धित स्वास्थ्य संस्थामा दाबी भुक्तानी दिइसकिएको बताइएको छ ।

स्वास्थ्य सुरक्षा विकास समितिले असार १ गतेबाट जुम्ला तनहुँ, चितवन र भरतपुरमा पनि बिमा कार्यक्रम विस्तार गरिसकेको छ । असार १५ गतेबाट मकवानपुरसँगै जाजरकोट र गोरखामा पनि बिमा सेवा सुरु गर्ने समितिका निर्देशक लोहनीले बताए ।
हेटौंडामा भएको अन्तत्र्रिmयामा हेटौंडा उपमहानगर उपमेयर मीना लामा, सहक्षेत्रीय प्रशासक कुमारबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, क्षेत्रीय स्वास्थ्य निर्देशक डा. बासुदेव पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्