नेम्पा अवार्डमा ४४ फिल्म



नेपाल चलचित्र संघले लामो समयको अन्तरापछि फेरि आयोजना गर्न लागेको नेम्पा फिल्म अवार्ड २०१७ मा ४४ फिल्म सहभागी हुने भएका छन्।

संघले अमेरिकाको डीएबीएस इन्टरटेनमेन्ट डल्लाससँगको सहकार्यमा अमेरिकामै आयोजना गर्न लागेको अवार्डमा ४४ फिल्मबीच प्रतिस्पर्धा हुने भएको हो। अवार्डबारे जानकारी दिन संघले शुक्रबार राजधानीको विशालनगरस्थित संघकै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रदीपकुमार उदयले अवार्डमा सहभागी हुन ४४ फिल्मको आवेदन परेको जानकारी गराए।

अवार्डमा गत वर्ष रिलिजमा आएका ८४ फिल्ममध्ये ४४ फिल्मले सहभागिताका लागि आवेदन दिएका हुन्।

संघका अध्यक्षद्वयका अनुसार अवार्डमा सहभागी हुन आएका फिल्महरूलाई अवार्डको जुरीले भोलि आइतबारदेखि फिल्म हेर्नेछन्। आगामी सेप्टेम्बर २ मा हुने अवार्डका लागि तीन सदस्यीय जुरी रहेको संघले जनाएको छ। ‘अवार्डमा ४४ फिल्म दर्ता भएका छन्।

अब यी फिल्महरूबाट १८ विधामा अवार्ड प्रदान गरिनेछ’ –उदयले भने। नेम्पा अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक, नायिका, नायक, सहनायक, सहनायिका, नवनायक, नवनायिका, खलपात्र, हास्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायाकार र नृत्य निर्देशकको विधामा अवार्ड प्रदान गरिनेछ भने लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्