सम्वृद्धि र निशादलाई उपाधि



नेपाल समाचारपत्र,काठमाडौं
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिपअन्तर्गत शुक्रबार अन्डर–८ सिंगल्सतर्फको फाइनलमा सम्वृद्धि महर्जन र निशाद जोशी विजयी भएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्सको उक्त फाइनलमा सम्वृद्धिले नला मास्केलाई १०–३, १०–६ ले पराजित गर्दै उपाधि चुमिन्। यस्तै सोही उमेर समूहको ब्वाइजतर्फको फाइनलमा निशादले सुभम चौलागाईंलाई १०–१, १०–३ ले हराउन सफल भए।

शुक्रबारै भएको अन्डर–१० को ब्वाइजतर्फको फाइनलमा आरभ हाडाले प्रणव मानन्धरलाई ६–०, ६–० सेटमा हराउँदा अन्डर–९ को ब्वाइजतर्फको खेलमा राजवीर प्रधानले सक्षम शाहलाई ४–२, ४–१ ले पाखा लगाए। यसैगरी ब्याइज अन्डर–१२ को फाइनलमा आर्यन गिरीले निश्चल अधिकारीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दा सोही उमेर समूहको गल्र्सतर्फ रायना शाहले शरभानी श्रेष्ठलाई ६–२, ६–३ ले हराउँदै उपाधि हात पारिन्।

यसै गरी अन्डर–१४ को ब्वाइज सिंगल्सको फाइनलमा सम्यक बीबीलाई ६–३,६–२ ले पराजित गर्दै आदित सुवेदीले पनि उपाधि आफ्नो पोल्टामा पारे।
यस्तै अन्डर–१८ को गल्र्स सिंगल्सको फाइनलमा अभिलाषा विष्टले विजिशा श्रेष्ठलाई ६–३, ६–२ सेटमा पराजित गरिन्। प्रतियोगिताअन्तर्गत शनिबार पुरुष अन्डर–१८ तथा गल्र्स अन्डर–१४ को फाइनल खेलहरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्