राजिव गान्धीको हत्यामा दोषी राबर्टद्वारा मर्सी किलिंगको आग्रह



नयाँदिल्ली, (एजेन्सी)
भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीको हत्याको आरोपमा विगत २६ वर्षदेखि जेल जीवन बिताइरहेका रोबर्ट पायसले मर्सी किलिंगका लागि तमिलनाडुका अधिकारीहरूसँग आग्रह गरेका छन्।
श्रीलंकाका नागरिक रोबर्टले प्रदेशका मुख्यमन्त्री इ पलनिसामीलाई लेखेको एक पत्रमा उनीमाथि दया गरी उनलाई मर्नका लागि अनुमति दिन र मृत्युपछि उनको शवलाई उनका परिवारलाई सुम्पन आग्रह गरेको जनाइएको छ।

‘पायसले पुजल जेल अधिकारीहरूको माध्यमबाट सरकारलाई याचिका सुम्पेका छन्’ –समाचार एजेन्सी पीटीआईले जनाएको छ।

रोबर्टले उनका परिवारजन पनि अब उनीसँग भेट्न आउने नगरेको र अब उनको जीवनको कुनै उद्देश्य नरहेको बताएका छन्। राजिव गान्धीको हत्या सम्बन्धमा जेल सजाय दिइएका सातजना तमिल टाइगर्सका सदस्यमध्ये एक रोबर्ट पनि हुन्।

तमिलनाडु सरकारले उनको रिहाइको प्रयास गरेको रोबर्टको भनाइ छ। पूर्वमुख्यमन्त्री जे जयललिताले पनि उनलाई रिहा गर्ने प्रयास गरेकी थिइन्।

उनी यसका लागि केन्द्रको मनमोहन सिंह सरकार र वर्तमान एनडीए सरकारलाई दोषी मान्छन् जसले उनको रिहाइको विरोध गरिरहेका छन्। उनले भने– ‘केन्द्रले हामी जेलमै मरोस् भन्ने चाहेको छ।’

‘तमिलनाडु सरकार र केन्द्र सरकारको मौनले हाम्रो जिन्दगी जेलमै समाप्त हुनुपर्छ भन्ने हामीलाई बताइरहेको छ।’ –उनले भने।

यदि आफू बाहिर निस्कन पाउने कुनै आशा नरहने हो भने जिउनुको कुनै अर्थ नहुने उनले बताएका छन्। रोबर्टका अनुसार जुन ११ मा जेलमा उनको २६ वर्ष पूरा भएको छ र अब उनी आफ्नो २७ वर्ष काटिरहेका छन्। आफूले पहिला मृत्युका बारेमा नसोचेको तर अहिले गम्भीरतापूर्वक मर्सी किलिंगको बारेमा सोचिरहेको उनले बताए। सन् १९९१ मे २१ मा दक्षिण भारतको श्री पेरम्बदुरमा राजिव गान्धीको एक चुनावी र्यालीका क्रममा हत्या भएको थियो।

उनको हत्याको दोषमा संथन, मरुगन, पेरारिवलन, नलिनी, रोबर्ट पायस, जयकुमार र रविचन्द्रनलाई जेल सजाय काटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्