अभिनेताद्वारा ट्रम्पको हत्याबारे टिप्पणी



ग्लास्टोनवरी, (एजेन्सी)
अभिनेता जोह्नी डेपले ग्लास्टोनवरी चलचित्र महोत्सवमा भाषण दिने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको देखिएको छ। उनले आफ्नो फिल्म दि लिवरटाइमको स्क्रिनिङबारे परिचय दिने क्रममा दर्शकहरूलाई सोधे– ‘के तपाईंहरू ट्रम्पलाई यहाँ ल्याउन सक्नुहुन्छ?’

दर्शकदीर्घाबाट हाँसोको फोहरा निस्केपछि उनले भने– ‘तपाईंहरूले कुरा पटक्कै बुझ्नुभएन जस्तो छ। अन्तिम पटक एकजना कलाकारले राष्ट्रपतिलाई मारेको कहिले हो? म स्पष्ट पार्न चाहन्छु। म कुनै कलाकार हैन। म बाँच्नका लागि झुठो बोल्छु। तर यो केही समयका लागि मात्र हो।’

त्यसपछि डेपले आफ्नो टिप्पणी सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको अभिनेता जोहन विल्किस बुथद्वारा भएको हत्यातर्फ संकेत रहेको र यस भनाइ विवादमा पर्न सक्ने पनि बताएका थिए। यसरी अमेरिकी राष्ट्रपति मार्ने कुरा गर्ने यिनी पहिलो सेलेब्रिटी भने हैनन्।

यसअघि वासिङ्टन डीसीमा आयोजित एक र्यालीमा गायिका म्याडोनाले राष्ट्रपति भवन नै उडाइदिने विचार आएको बताएकी थिइन्। त्यसै गरी अमेरिकी र्यापर स्नुप डोगले एउटा म्युजिक भिडियोमा ट्रम्पको पात्रविरुद्ध एउटा खेलौना शटगन प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्