पूर्वराष्ट्रपति पार्ककी मित्र चोईलाई कारावास सजाय



सोल, (एजेन्सी)
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेयुन ह्येकी निकटतम मित्र चोई सुन सिललाई शुक्रबार दक्षिण कोरियाको एक अदालतले भ्रष्टाचारको अभियोगमा तीनवर्ष लामो कारवास सजाय सुनाएको छ।

चोईले आफ्नी छोरीका लागि विभिन्न फाइदा लिन आफ्नी मित्र पार्कको अधिकारको दुरुपयोग गरेकी थिइन्। फलस्वरुप यसै काण्डका कारण पार्कको सत्ता गएको थियो।

चोई लामो समयदेखि भ्रष्टाचारको महाअभियोग लगाइएकी पार्ककी सल्लाहकारका रुपमा काम गर्दै आएकी थिइन्। अहिले पनि पार्कविरुद्ध यस सम्बन्धमा मुद्दा चलिरहेको छ। चोईमाथि पार्कका लागि घुस रकम स्विकारेको अभियोग पनि लगाइएको छ।

तर पार्कले अझैसम्म आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएकी छिन्। चोईलाई आफ्नो ओहदा दुरुपयोग गरी एउटा विश्वविद्यालयमा आफ्नी छोरी चुंग यु रालाई भर्ना गर्न अधिकारीहरूलाई प्रभावित गरेको तथा उनले कहिल्यै सहभागिता नै नजनाएको परीक्षामा अंक दिलाउन लगाएको अभियोगमा दोेषी करार गरिएको छ।

योन्हाप समाचार निकायले उनले आफ्नी छोरीको हितका लागि थुप्रै अनैतिक काम गरेको अदलतले आफ्नो निर्णय सुनाउने क्रममा जनाएको छ। सोलस्थित निकै प्रतिष्ठित एव्हा वुमन्स युनिभर्सिटीका दुईजना अधिकारीलाई पनि चोईसँग मिलोमतो गरेको अभियोगमा कारावास सजाय सुनाइएको छ।

चोईमाथि अधिकारको दुरुपयोग, जबर्जस्ती हस्तक्षेप तथा हस्तक्षेपको प्रयास र जालसाजीको प्रयासजस्ता अभियोगमा मुद्दा चलाइन बाँकी नै छ। गत वर्ष डेनमार्कमा प्रहरीले पक्राउ गरी दक्षिण कोरियासमक्ष सुपुर्दगी गरिएकी चोईकी २१ वर्षीया छोरी चुंगले आफ्नी आमाको कुनै पनि अवैध कारोबारबारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन्।

चोईविरुद्ध आफ्ना केही गैरआयमूलक संस्थाका लागि पार्कको शक्तिको आडमा सामसुङ कम्पनीबाट लाखौं अमेरिकी डलर चन्दा सहयोग स्वरूप प्राप्त गरेको अभियोग पनि लागेको थियो। पार्कमाथि पनि आफू स्वयंले चोई र आफ्ना दुईजना सहयोगीलाई निर्देशन दिएर ती संस्थाका लागि पैसा संकलन गर्न लगाएको अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्