नेपाल स्टोर्मको लगातार जित



काठमाडौं, (नेस)
नेपाल स्ट्रोमले एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको रोमाञ्चक जित हात पार्यो। लायन्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४८ रन बनायो। टोलीका उत्सव चन्द्रले नटआउट हुँदै सर्वाधिक ४० रन बनाए। ३० बलको सामना गरेर उनले तीन चौका र दुई छक्का प्रहार गरे। नेपाल स्ट्रोमका आशिष विष्ट, कप्तान हसिब हमजाद र गौरव बारबाडेले दुई दुई विकेट लिए।

जवाफमा नेपाल स्ट्रोमले अन्तिम ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रनको विजयी लक्ष्य पूरा गर्यो। टोलीको जितमा दिशान्त यादवले अर्धशतकीय इनिङ खेले। उनले ४२ बलमा ५० रन बनाए। यस्तै जितेन्दर शर्माले १३ बलमै ३३ रनको महत्वपूर्ण योगदान दिए।

श्रीलंकन लायन्सका लागि निशासन सामाराकोड्डीले दुई विकेट लिए। यस्तै बैभव अरोरा र उत्सव चन्द्रले समान एक एक विकेट लिए।

६ टोली सहभागी प्रतियोगितामा नेपाल स्टोमले आफूले खेलेका दुवै खेलमा जित हात पार्दै चार अंकका साथ शीर्ष स्थानमा छ। एक खेल खेलेको दुवई वारियर्स दुई अंकका साथ दोस्रो र अफगानिस्तान बुल्स तेस्रो स्थानमा छ। यसैगरी तीन खेल खेलेको श्रीलंकन लायन्सले दुई खेलमा हार र एक खेलमा जित हात पार्दै दुई अंक जोडेको छ।

लिगमा दुई खेलमा एक खेल जितेको बंगलादेश टाइगर्स पाँचौं र आफूले खेलेका दुवै खेलमा हार बेहोरेको इन्डियन स्टारर्स अन्तिम स्थानमा छ। शनिबार बंगलादेश टाइगर्स र दुवई वारियर्सवीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्