क्लब हिमालयन भत्काउने निर्णय



मोतीराम तिमल्सिना, काभ्रे
पर्यटकका लागि आर्कषक मानिएको नगरकोटमा ठूला साना होटलहरूले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयनबाट अतिक्रमण हटाउन शुरू गर्ने निर्णय गरेको छ।

‘जिल्लामा भएका थुप्रै अतिक्रमणमध्ये नगरकोट क्षेत्रको अतिक्रमण क्लब हिमालयनबाट शुरू गर्नुपर्छ’, नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौड्यालले भन्नुभयो– ‘निर्वाचनअघि हामीले केही समय अतिक्रमण हटाउन रोकौं भनेका थियौं, अब जसरी पनि जनप्रतिनिधिलाई अगाडि लगाएर वन र सार्वजनिक जग्गा अतिक्रमण हटाउनुपर्छ।’

नगरकोटमा ठूला होटलहरू द फोर्ट, स्पेस माउन्टेन र होटल भ्यु प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन्। सबैभन्दा धेरै क्लब हिमालयनले १३ रोपनी, द फोर्टले ५ रोपनी, स्पेस माउन्टेनले एक रोपनी, होटल भ्यु प्वाइन्टले २ रोपनी र मधुवन होटलले १ रोपनी जग्गा अतिक्रमण गरेका छन्। नगरकोटमा रहेका लप्ट होराइजन, घर छाप्रो, छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन, होटल चौतारीलगायतका होटलहरूले जग्गा अतिक्रमण गरेका छन्।

१६ वटा होटल र नगरकोट क्षेत्रमा रहेका बाटो छेउका २५ वटा छाप्राहरूलाई पनि हटाउने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा भक्तपुर जिल्लाका प्रजिअ, सुरक्षा प्रमुख र वन कार्यालयका प्रमुखसँगको बैठक बस्ने र तत्कालै नगरकोट क्षेत्रको अतिक्रमण हटाउन शुरु गर्ने निर्णय गरेको जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले जानकारी दिनुभयो।

जिल्लामा नगरकोटबाहेकका अन्य क्षेत्रमा पनि सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमण भएको छ। असार १५ गते धुलिखेलमा रहेको धोबीखोला सामुदायिक वनको अतिक्रमण हटाउने निर्णय भएको छ भने गौखुरेश्वर सामुदायीक वन धुलिखेल १ मा रहेको अतिक्रमण गरी बनाइएको संरचना हटाउने भएको छ।

दुवै वनहरूमा होटल बनिरहेका छन्। जिल्ला वन कार्यालयले ९ पटकभन्दा धेरै पत्राचार गर्दासमेत वन अतिक्रमण हटाउन नसकेको प्रमुख खनालले बताउनुभयो।

बैठकमा नेकपा एमालेका जिल्ला सदस्य विदुर हुमागाईंले अतिक्रमण हटाउने विषयमा राजनीतिक दलहरूको साथ रहने बताउँदै जनप्रतिनिधिलाई अगाडि लगाउन सुझाव दिनुभएको थियो। सुकुम्बासीलाई समेत व्यवस्थापन गर्ने गरी अतिक्रमण हटाउन उहाँले सुझाव दिनुभयो।

बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तेजबहादुर केसीले नगरकोटलगायतका क्षेत्रको अतिक्रमण हटाउने तयारी २०६७ सालदेखि भए पनि सम्भव नभएकाले तत्काल हटाउन प्रशासनलाई अनुरोध गर्नुभयो। बैठकमा जिल्ला वन कार्यालयका प्रमुख खनालले २३.७ रोपनी अर्थात् १.२१ हेक्टर, बुटेन ४ आना र बाटोमा पर्ने ४३ वटा घरले अतिक्रमण भएको बताउनुभयो।

 

खनालले खोपासी, डराउने पोखरी, कटुञ्जे, नारायणस्थान, महादेवस्थान, जनागाललगायतका क्षेत्रमा १ सय ९६ हेक्टर क्षेत्रफलमा २ सय ५९ घर टहरामा ४ सय ४२ जनाले अतिक्रमण गरेका छन्। धार्मिक, सांस्कृतिक, गह् नाफामुखी सेवामूलक एवं सार्वजनिक हितको उद्देश्यले ७८ हेक्टरमा ६६ वटा घर टहरामा ३५ जनाले अतिक्रमण गरेको बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्