पुनर्निर्माणमा गनगन,कहिले सकिएला हनुमानढोका क्षेत्रको काम ?



ईश्वरराज ढकाल, काठमाडौं

‘पाटन र भक्तपुरमा दुई÷चारवटा मन्दिर बने, चर्चा चल्यो। तर, काठमाडौंमा यतिका मन्दिर बन्दा चर्चा नै चलेन।’ ६ महिनादेखि ठेक्का दिएर पनि पुनः निर्माण हुन नसकेको दश अवतार मन्दिर पुनर्निर्माण कहिले शुरु हुन्छ? भन्ने विषयमा हनुमानढोका दरबारक्षेत्र विकास समितिका कार्यकारी निर्देशक करुणा नकर्मीलाई प्रश्न गर्दा उहाँले माथिको कुरा बताउनुभएको हो।

उहाँको थप जवाफ थियो– ‘हामीले काम गरिरहेका छौं तर कसैले देखेन।’ अन्य दरबार संग्रहालयको तुलनामा सुस्त काम भएको हनुमानढोका दरबार संग्रहालयको समेत हालत उस्तै छ।

किन ढिलो भयो भन्ने प्रश्नको जवाफमा नकर्मी भन्नुहुन्छ– ‘समस्या भइरहेको छ।’ स्थानीयले ठेक्कापट्टाबाट सम्पदा पुनर्निर्माण गर्न नदिने अडान राख्दै करिब आठ महिनादेखि ठूला सम्पदा पुनर्निर्माण गर्न रोक लगाएपछि काष्ठमण्डप, लक्ष्मी नारायण, दशअवतारलगायतका मुख्य सम्पदा बन्न सकेका छैनन्।

हनुमान ढोका दरबारक्षेत्र विकास समितिले ठोस पहल नगर्दा समस्या परेको हो। विकास समितिले भने पहल गरिरहेको दाबी गर्ने गरेको छ। तर भदौमा ठेक्का पाएर गएको पुसदेखि निर्माण शुरु गर्न लागेको दशअवतार नबनेको विषयमा संग्रहालयले कुनै जवाफ दिन सकेको छैन।

दश अवतार, काष्ठमण्डपलगायतका सम्पदा किन नबनेको भन्ने विषयमा नकर्मी भन्नुहुन्छ– ‘अरू काम भइरहेको छ। बिस्तारै होला।’

हनुमानढोका संग्रहालय र पुरातत्व विभागको बेवास्ताले गर्दा काम हुन नसकेको बताउँदै हनुमानढोका सम्पदा संरक्षण संघर्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठले भन्नुभयो– ‘काम गर्न नसकेपछि हामीमाथि आरोप लागेको हो।’ ‘हामीले ठेक्कापट्टाबाट बन्नै दिँदैनौं, स्थानीयको सहभागिता खोजेका हौं, तर विभाग र हनुमानढोका कार्यालयले भने ठेक्कापट्टाबाटै काम गराउन खोजेका छन्।’ –उहाँको भनाइ थियो।

भक्तपुर र पाटनमा स्थानीयको सहभागिता हुन मिल्ने यहाँचाहिँ किन नमिल्ने उहाँको प्रश्न थियो। तर संग्रहालय प्रमुख नकर्मीले भने चाँडै समस्या समाधान भएर काम शुरु हुने बताउनुभयो। हनुमानढोका संग्रहालयको सुस्तताले गर्दा अन्य पुनर्निर्माणको काम अघि बढ्न नसकेको स्थानीयको आरोप छ।

काष्ठमण्डपको पनि स्थानीयकै कारण समस्या बढेको छ। तर पहल गर्नुपर्ने निकाय पुरातत्व विभाग र संग्रहालय प्रशासनले चासो नदिदा समस्या बढेको हो। ‘स्थानीयले काष्ठमण्डप पनि ठेक्कापट्टा नभै अमानतमै बनाउनुपर्ने माग राख्दै आएका छन्।

अब पुरातत्वले चासो नदेखाए जनताकै रकमबाट पुनर्निर्माण शुरु गर्नेछांै’ –श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले आज शनिबार दश अवतारमा ठेकेदारले लगाएको बार भत्काएर आफैंले सफाइ गर्ने र सो मन्दिरमा प्रयोग भएका सबै समाग्री ठेकेदारलाई नै जिम्मा लगाउने तयारी भएको जानकारी दिनुभयो। २०७२ सालको शक्तिशाली भूकम्पबाट हनुमानढोकामा करिब ४० वटा सम्पदा पूर्ण रुपमा ध्वस्त भएका थिए। तीमध्ये हालसम्म करिब एक दर्जन पनि बन्न सकेका छैनन्।

पाटन र भक्तपुरको तुलनामा हनुमानढोका दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण कछुवाको गतिमा अघि बढिरहेको छ। संग्रहालयका प्रमुख नकर्मीले भने हनुमानढोका दरबार क्षेत्रका सम्पदाहरूको काम भए तापनि चर्चा पाउन नसकेको बताउनुभयो। स–साना मन्दिर मात्रै पुनर्निर्माण गर्न शुरु गरेको हनुमानढोका संग्रहालयले पाटन, भक्तपुर र अन्य क्षेत्रको तुलनामा अतिनै सुस्त गतिमा काम गरिरहेको छ।

 

विभागका अनुसार भूकम्पले काठमाडौंका ४३ वटा सम्पदा पूर्ण रुपमा ध्वस्त, ५० मा आंशिक र १ सय ४७ गरी २ सय ४१ सम्पदामा भूकम्पले पूर्ण रूपमा प्रभावित भएको तथ्याङ्क छ। तीमध्ये हनुमानढोका दरबार क्षेत्रभित्र रहेको आगम छें र दरबारको मुख्य लङग जापान सरकारको सहयोगमा सञ्चालित नेसनल रिसर्च इन्टिच्युट फर कल्चरल पपर्टिज, हनुमानढोका दरबारबाहिरको जगन्नाथ र कृष्ण मन्दिर जापानिज फन्ट इन ट्रस्ट, तलेजुको मूलद्वारनजिक रहेको कागेश्वर र सिंहढोका अमेरिकन संस्था काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) गद्धी बैठक जापानको मियोमोतो फाउण्डेसनको आर्थिक सहयोगमा गर्ने उल्लेख भएको थियो।

दातृ निकायले प्रतिबद्धता जनाएअनुसार काम जारी राखेका छन्। तर सरकार स्वयंले जिम्मा लिएको काम भने प्रायः ठप्प छ।

अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक पुनर्निर्माण शुरु गरिएको छ। अमेरिकी सरकारले गद्धी बैठक पुनर्निर्माण गर्न ७ लाख अमेरिकी डलरबाट सो काम शुरु भइरहेको छ। पुरातत्व विभागले वंशगोपाल ,त्रैलोक्यमोहन, च्यासी देगः दशअवतार मन्दिर विभागले निर्माण गर्ने जनाए तापनि काम शुरु हुन सकेको छैन ।

नौतले दरबार र त्यससंगै रहेको भक्तपुर, ललितपुर र कीर्तिपुर टावर चीन सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धताअनुसार यही महिनाबाट काम शुरु हुने भएको छ। काण्ठमण्डप र माजु तलेजु मन्दिर काठमाडौ महानगरपालिकाले पुनर्निर्माण गर्ने जनाए तापनि हालसम्म काम शुरु भएको छैन।

पुरातत्व र कामपासंग प्रश्न गर्दा भन्ने गरेका छन््–अध्ययन भइरहेको छ हामी छिट्टै पुननिर्माणको काम शुरु गर्नेछौँ। विदेशी दातृनिकायको बाहेक पुरातत्व र काठमाडौं महानगरपालिककाले पुनर्निर्माण गर्न भनिएको सम्पदाको अवस्था दयनीय रहेको छ।

प्रतिक्रिया दिनुहोस्