निर्वाचन बिथोल्ने रणनीति फेरियो,राजपाले अवरोध गर्न छोड्यो



file pic

बीपी साह, काठमाडौं

मधेस केन्द्रित दलहरू संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्यून भएको छ।

विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसँग सहकार्य गरेको छ भने अन्य स्थानमा कुनै पार्टीसँग सहकार्य गर्न सकेको छैन। त्यस्तै, लोकतान्त्रिक फोरमले विराटनगरमै नेकपा एमालेसँग सहकार्य गरेको छ।

फोरम नेपालले नयाँ शक्ति पार्टीसँग सहकार्य गरे पनि त्यसको प्रभाव मतदातासम्म पर्न सकेको छैन। फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले केही स्थानमा सहकार्य गरेका छौं। केही स्थानमा एक्लै उठेका छौं। नयाँ शक्तिसँग आधिकारिक सहकार्य भएको छ भने विराटनगरमा माओवादीसँग सहकार्य गरेका छौं।’

राउतले स्थानीयस्तरमा अवस्था हेरेर पार्टीले सहकार्य गरिरहेको बताउँदै विजयकुमार गच्छदारसँग सहकार्य हुन नसकेको बताउनुभयो। उहाँले अन्तिम समयमा हुन सक्ने सम्भावना रहेको बताउनुभयो।

यता नेपाल लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देवले अहिले सहकार्य गर्ने समय बाँकी रहेको बताउँदै अन्य पार्टीहरूसँग सहकार्य हुन सक्ने बताउनुभयो। उहाँले फोरम नेपालसँग सहकार्यको पहल भए पनि सहकार्य हुन नसकेको बताउनुभयो। देवले फोरम नेपाल सहयोग माग्न आएको खण्डमा आफूहरू सहयोग गर्न तयार रहेको बताउनुभयो।

फोरम नेपालले चुनावीसभाहरूमा सहकार्यका लागि दलहरूलाई आग्रह गर्दै आएका छन्। उसले राष्ट्रिय जनता पार्टीलाई पनि सहयोग गर्न आग्रह गरेको छ। फोरम नेपालको चुनावीसभाअनुसार शनिबार उपेन्द्र यादव र माओवादी अध्यक्ष प्रचण्ड विराटनगरमा सम्बोधन गर्दै छन् भने आइतबार कृष्णनगर कपिलवस्तुमा सभा गर्ने कार्यक्रम रहेको राउतले बताउनुभयो। नेपालगन्जमा नेता राउत र महासचिव रामसहाय यादवले सभा तथा चुनावी अभियान गर्दै छन्।

पश्चिममा गच्छदारसँग राजपाको सहकार्य

बाँकेसहित पश्चिमका जिल्लाहरूमा लोकतान्त्रिक फोरम र राजपाबीच सहकार्य भएको छ। बाँकेको राजपाको पकड क्षेत्रमा राजपाका नेताहरू विजय गच्छदारको चुनाव चिह्नबाट उठेका छन्। राजपाका नेता पशुपतिदयाल मिश्रको क्षेत्रमा राजपाले गच्छदारलाई सहयोग गरेको हो।

त्यस्तै कैलालीमा पनि राजपाका नेताहरू गच्छदारको चुनाव चिह्नबाट चुनावमा उठेका छन्। नवलपरासी र रूपन्देही क्षेत्रमा राजपाका नेताहरू स्वतन्त्र उम्मेदवारी दिएका छन्।

राजपाका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि पश्चिममा राजपाले निर्वाचन बिथोल्न कार्यक्रम रोकेको छ। राजपाका महासचिव वृजेश गुप्ताले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी अहिले सशक्त आन्दोलन गर्न सक्ने अवस्थामा छैनौं। चुनावलाई पनि सघाएका छैनौं।

चुनावप्रति इच्छुक कार्यकर्ताहरू चुनावमा उठेका छन्। आन्दोलनलाई निरन्तरता दिँदै उहाँहरूलाई सहयोग गर्दै छौं।’ गुप्ताले अहिले निर्वाचन भइरहेको क्षेत्रमा विरोध नगर्ने बताउनुभयो।

यता शनिबार राजपाकका शीर्ष नेताहरू राजविराज पुग्दै छन्। सप्तरीको राजविराजमा विभिन्न पार्टी परित्याग गरी नेताहरू राजपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्