भारतसंग जोडिएको सीमानाका ७२ घण्टा बन्द गर्ने सहमति



नेपाल समाचारपत्र, बैतडी ।
यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएको सीमानाका ७२ घण्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा आज भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई मध्यनजर गरेर सीमा नाका बन्द गर्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भारतको पिथौरागढ जिल्लाका डि.एम, दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

 

असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म ७२ सिमा नाका बन्द हुने भएको छ । उहाँले भन्नुभयो ‘खास गरेर स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीका बीचमा छलफल भयो । चुनावलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउन भारतले गर्न सक्ने सबै सहयोग प्राप्त हुने प्रतिबद्धता समेत आयो ।’

 

सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराधलाई न्यूनीकरण गर्ने बिषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी शिकारी लगायका अपराधको न्यूनीकरणका बिषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उहाँले बताउनुभयो ।

यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुंगे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनहरुले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ ।बैठकमा भारतको तर्फबाट पिथौरागढ जिल्लाका डिएम सि रवीशंकरको नेतृत्वमा त्याहाँका सुरक्षा प्रमुख, सीमा सुरक्षा बलका प्रमुख, भन्सार र वन कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको थियो ।

निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रसासन कार्यालय बैतडीले असार ५ गतेदेखि मदिरा बेचबिखनमा पुर्ण रुपमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्