दुई प्रहरीको मृत्यु , दुई बेपत्ता



चितवन,(नेस) ईच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ–मुग्लिङ सडकको चारकिलो भन्ने ठाउँदेखि करीव १.५ किलोमिटर अगाडि कालीखोलामा गएराति माथिबाट पहिरो आई ईलाका प्रहरी कार्यालय मुग्लिङको ना.१ झ १३९० नम्बरको भ्यान र ना.५ ख ७८२७ नम्बरको ट्रक समेत पहिरोले बगाउँदा २ प्रहरी कर्मचारीको मृत्यु भएको छ भने अन्य २ वेपत्ता भएका छन् ।

उक्त सडकको चारकिलो भन्ने ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको कमाण्डमा खटि गएको टोलीले अवरुद्ध सडक एकतर्फी खुलाई कार्यालयतर्फ फर्कने क्रममा कालीखोलामा आइपुग्दा उक्त दुबै गाडी पहिरोले बगाएको थियो । मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत धादिङ, खनियाबास गाउँपालिका–४ वस्ने २९ वर्षीय प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा, हरैया–६ वस्ने ३० वर्षीय प्रहरी जवान दिपककुमार मास्के रहेका छन् ।

वेपत्ता हुनेमा प्रहरी जवान गोरखा, मकैसिंह–१ वस्ने ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङ र तनहुँ, रुपाकोट–३ वस्ने २१ वर्षीय प्रहरी जवान सन्दिप कार्की रहेका छन् । घटनामा प्रहरीको ना.१ झ १३९० नंम्बरको महिन्द्रा पिकअप भ्यान, एसएलआर २ नाल, त्यसको गोली १ सय राउण्ड, चाइनिज हत्कडी १ थान, संचार साधन २ थान हराएका छन् । उक्त ट्रकका चालक रामकुमार लामा र सह–चालक मकवानपुर, मनहरी बस्ने २७ वर्षीय सानु ब्लोन घाइते भएका छन् । लामाको अवस्था सामान्य र ब्लोनको मध्यम रहेको छ । दुबैजनालाई उद्धार गरी उपचारको लागि आबुखैरहनीतर्फ पठाइएकोमा थप उपचारको लागि भरतपुरतर्फ लगिएको छ ।

घटनापछि तत्काल खटिएको ईलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोलीले २ प्रहरीको शव नदी किनारमा पुरिएको अवस्थामा र उक्त ट्रक त्रिशुली नदीको किनारमा पुर्णरुपमा क्षति भएको अवस्थामा फेला पारेको थियो । घटनास्थलमा थप उद्धारको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दिपक थापा, प्रमुख जिल्ला अधिकारी सहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट समेत टोली खटि गई उद्धार तथा अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ । वेपत्ता भएका प्रहरी र प्रहरी भ्यानको खोजतलास जारी रहेको छ ।

बाढीले दुई जना बगायो  सोलुखुम्बु,(नेस) दुधकौशिका गाउँपालिका–१ स्थित हिमसिखर बोर्डिङ स्कुलबाट घर फर्कने क्रममा सोही ठाउँस्थित जोगरा खहरेखोलामा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने बिकास कटुवालको छोरा एलकेजीमा अध्यनरत ७ वर्षीय सागर कटुवाल र रेवती बस्नेतकी छोरी कक्षा २ मा अध्यनरत ८ वर्षीया रचना बस्नेतको बाढीले बगाएर बिहिबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने शम्भु कटुवालकी छोरी कक्षा २ मा अध्यनरत ७ वर्षीया सन्चु कटुवालसमेत ३ जनालाई खोलाले बगाएको अबस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय गणेशबहादुर बस्नेतले उद्धार गर्न खोज्दा बस्नेतलाई समेत खोलाले बगाएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नेलेबाट तत्काल खटी गएको प्रहरी टोलीले बगाएकामध्ये बस्नेत र सन्चुलाई उद्धार गरेको थियो भने २ जनाको शव फेला परेको हो । उद्धार गरिएका २ जनालाई उपचारको लागि सल्लेरी अस्पताल पठाएको र अवस्था सामान्य रहेको छ । यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्