ठगीको आरोपमा पूर्व गोलकिपर शाही पक्राउ



 

काठमाडौं, (नेस)
करोडभन्दा बढी रकम ठगीको आरोपमा नेपालका पूर्वराष्ट्रिय गोलकिपर तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही बिहीबार पक्राउ परेका छन्।

विभिन्न व्यक्तिलाई क्यानडामा आयोजना हुने मैत्री खेलमा सहभागी गराउने नियत लिएका शाहीले एक करोडभन्दा बढी ठगी गरेकामा पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहीले २० भन्दा बढी व्यक्तिबाट रकम असुल गरी ठगी गरेका छन्। हाल एन्फाको फुटसल समितिका उपसंयोजक रहेका शाहीलाई पीडितहरुको उजुरीमा टोखाबाट पक्राउ गरिएको हो।

क्यानडाको टोरन्टोमा गत महिना मे १५ देखि २५ तारिखसम्म हुने मैत्रीपूर्ण फुटबल खेलमा सहभागी गराउने भनेर शाहीले प्रत्येकसँग २ लाख ५० हजार रुपियाँको दरले उठाएका छन्। शाहीले आफू अध्यक्ष भएको संस्था स्पोर्टस् फर अलका नाममा रसिद दिएका छन्। उनले ललितपुरको कुसुन्ती युवा क्लबका खेलाडीहरुको नाम दर्ता गराएका थिए। क्यानडामा पुगेपछि त्यहीं लुकेर काम गर्न सकिने उनीहरुलाई शाहीले आश्वासन दिएका थिए। तर उनले निर्धारित समयमा ती खेलाडीहरुलाई उडाउन नसकेपछि पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए। उनलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिएको छ।

उपेन्द्रमान सिंह नेपाली फुटबल जगत्मा जम्नुअगाडि शाही नेपालका नम्बर एक गोलकिपर थिए। सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साफ) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जित्दा उनी गोलकिपर थिए। दैलेखमा जन्मेका शाही झन्डै एक दशक नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर थिए। सन् १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका उनी तत्कालीन महेन्द्र पुलिस क्लबका गोलकिपर पनि थिए।

यसपछि शाही गणेश थापा अध्यक्ष बनेको समयमा एन्फामा महासचिव रहेका थिए। सन् १९९५ मा एन्फा पुनर्गठन हुँदा थापा अध्यक्ष र शाही महासचिव बनेका थिए। उनी त्यहाँ करिब पाँच वर्ष सो पदमा रहेका थिए। एन्फापछि शाहीले नेपालमा सम्भावना नै नभएको संघ नेपाल आइस हक्की संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता गराउन सफल भएका थिए। उनी सो संघका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्