पुकदाको अप्ठेरो



 

पूर्वप्रधानमन्त्री पुकदाले हिजो बाँकेको खजुरामा गएर एउटा कडा भाषण दिनुभएछ– ‘गणतन्त्र ल्याउने आन्दोलनविरुद्ध टाउकाको मूल्य तोक्नेले गणतन्त्रको संरक्षण गर्न सक्दैनन्।’ उहाँको भनाइ हुबहु यही नभए पनि आशय यस्तै थियो। त्यसैले कांग्रेस र एमालेलाई होइन, माओवादी केन्द्रलाई भोट हाल्नुपर्छ भन्ने उहाँको जिकिर रहेको धरहराबाट देखियो। उहाँले कोटइएको इतिहास त सही नै हो तर वर्तमान भने टाउकाको मूल्य तोक्नेलाई सरकारमा पुर्याउने काम भने उहाँहरुले नै गर्नुभएको हो।

अलि अगाडिका जनता भए त बुझ्ने थिएनन् होला, अहिलेका जनताले के कुरा बुझ्दैनथे। खासखुस गरेको धरहराले प्रस्टै सुन्यो– ‘यी कमरेड पनि के भन्छन् के भन्छन्। उता काठमाडौंमा मिल्छन् यता आएर यस्तो भाषण गर्छन्।’

उहाँका बाध्यता पनि होलान्। सरकारमा जानुछ। त्यसका लागि कांग्रेसलाई समर्थन पनि गर्नुपर्यो। उता निर्वाचनमा त्यही कांग्रेस र एमालेभन्दा फरक देखिएर भोट पनि तान्नु छ। केही न केही त बोल्नै पर्यो। ससानो कार्यक्रममा खस्याकखुसुक त्यहींका जनताले मात्रै सुनून् भनेर बोल्यो। बोल्न पाएको छैन, खबर संसारभरि पुगिहाल्छ। अनि अनेक टीकाटिप्पणी हुन्छ। कहिलेकाहीं त ‘मिसफायर’ पनि हुन्छ। वास्तवमा ठूलो नेता हुन पनि गाह्रै कुरा रहेछ, होइन त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्