एनसेलको इन्टरनेसनल कल प्याक



 

काठमाडौं, (नेस)
एनसेलका ग्राहकले नेपालबाहिर रहेका आफ्ना परिवार तथा साथीभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन्। एनसेल प्रालिले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेसनल कल प्याक’ ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा करसहित २ दशमलब ५० रुपियाँ प्रतिमिनेटमा कुरा गर्न सक्नेछन्।

असार ९ गतेदेखि लागू हुने कल प्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित २५ रुपियाँमा १० मिनेट अन्तर्राष्ट्रिय टक टाइमबाट फाइदा लिन सक्नेछन्। यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिंगापुर, दक्षिण कोरिया, बंगलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन्। त्यसैगरी ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन्। ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार यो प्याकजति पटक पनि लिन सक्नेछन्।

‘विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहन योगदान पुर््याउने यो इन्टरनेसनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौं। लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं,।’ एनसेलका संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ। ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशका लागि लाग्ने कलको शुल्क हेर्न सक्छन्। यस इन्टरनेसनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागिमान्य हुने कम्पनीले जनाएको छ। यस प्याकको लागि पल्स रेट ३० सेकेन्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमको जानकारी लिनका लागि एस्ट्रिक्स १०१ ह्यास डायल गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्