चीन जोड्ने सडकका लागि ६० करोड



 

रवीन भट्टराई, ताप्लेजुङ
नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्डका लागि बहुवर्षीय ठेक्कामार्फत काम अगाडि बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो।

उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बहुवर्षीय ठेक्का प्रणालीमार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई ६० करोड ४५ लाखको बजेटमा सहमति दिएको बताउनुभयो।

करिब ३ महिनाअघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडक खण्डलाई ओलाङ्चुङगोला र टीपतालापाससम्म जोड्ने प्रयास स्वरुप ६० करोड बढीको बजेट प्रस्ताव सडक विभागमा पेस गरेको थियो। सडक विभाग हुँदै भौतिक मन्त्रालयमार्फत अर्थ पुगेको बजेट प्रस्तावलाई अर्थले सहमति प्रदान गरेपछि पूर्वी नेपालको समृद्धिको ढोका खुल्ने संकेत देखिएको छ।

उत्तर दक्षिण लोकमार्ग आयोजनाको यो खण्डका लागि बजेट प्राथमिकतामा नपरेको स्थानीयको गुनासो र दलहरूको तीव्र दबाबसँगै अर्थले लोकमार्ग आयोजनाको बाँकी कामका लागि बहुवर्षीय ठेक्का प्रणालीमा सहमति जनाउँदै रकम कबोलसमेत गरेको छ।

अर्थले भौतिक योजना मन्त्रालयलाई राष्ट्रिय योजना आयोगको बहुवर्षीय ठेक्का बन्दोबस्तीसम्बन्धी निर्देशिका २०७३ का मापदण्ड पूरा गरी कार्य अघि बढाउन, राष्ट्रिय योजना आयोगबाट संशोधित कार्यक्रम स्वीकृत तथा सहमति लिन र प्रत्येक वर्ष सञ्चचालन हुने क्रियाकलाप र नतिजा झल्कने गरी गुरुयोजना स्वीकृत गर्नसमेत परिपत्र गरेको छ।

उत्तर दक्षिण लोकमार्ग आयोजना हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको प्रस्तावलाई भौतिक मन्त्रालयले गत चैत २७ गते अर्थ मन्त्रालयमा पेस गरेको थियो।

लोकमार्ग आयोजनाका प्रमुख नेपालीले टीपतालापासबाट ओलाङ्चुङगोलातर्फको सडक निर्माण कार्य जारिरहेको र सुकेटार–ओलाङ्चुङगोला सडकका लागि पनि बहुवर्षीय ठेक्का गर्न अनुमति प्राप्त भएकाले यो नाका सञ्चालनमा आशाको सञ्चार पलाएको बताउनुभयो।

चालु बजेटबाट निमार्णाधीन यो सडक खण्डको लेलेपसम्म जोड्न सकिने र बहुवर्षीय ठेक्का सडक निर्माणका लागि प्राप्त भएको अनुमतिअनुसार अब निर्माण कार्यले थप तीव्रता पाउने नेपालीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्