मणिपुरकी मीनालाई चिनायो ठमेल बजारले



 

रश्मी थापा
भारतको मणिपुरकी मीना निरौला फिल्म लुट २ को ठमेल बजार बोलको आइटम गीतबाट चिनिएकी छिन्। गायिका निरौलाले संगीतमा संघर्ष गरेको भने १५ वर्ष भयो। योभन्दा पहिले आधुनिक र फास्ट ट्रइकका गीत गाएकी उनी ठमेल बजारबाट भने रातारात चर्चामा आएकी हुन्। उनले केही दिनअघि मात्र राजधानीमा नेपाल चलचित्र विकास कम्पनीद्वारा आयोजित पाँचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्डमा अन्य चर्चित तथा स्थापित गायक–गायिकालाई पछाडि पार्दै सर्वोत्कृष्ट गायन विधाको अवार्डसमेत चुमिन्।

‘मैले सांगीतिक करिअरमै पहिलोपटक अवार्ड पाएँ। त्यसकारण यो अवार्ड पाउँदा निकै खुसी लाग्यो। कुनै पनि काम गर्दा राम्रो होस् भनेर नै गरिन्छ। त्यसैले राम्रो नतिजा दिएपछि अहिलेसम्मको स्ट्रगलको फल मिलेको अनुभव भयो’ –बिहीबार नेपाल समाचारपत्रसँग कुरा गर्दै मीनाले भनिन्। आइटम सङबाट दर्शक स्रोता तथा अवार्डका निर्णायकको नजरमा परेकी उनी भने आफ्नो भ्वाइसलाई आइटम गीत सुट गरेको मान्न तयार छैनन्। ‘मेरो भ्वाइसलाई आइटम गीत सुट गरेर होइन। यो गीत नै अन्यभन्दा फरक टेस्टको भएर दर्शकले मन पराएका हुन्। कुनै पनि फरक कुरा सबैको रोजाइमा पर्छ’ –उनले भनिन्।

भारतको मणिपुरमा जन्मेकी उनले मणिपुरमा हँुदा १ दर्जनभन्दा बढी मणिपुरी र हिन्दी भाषाका फिल्ममा गीत गाएकी थिइन्। ‘अन्य भाषामा गीत गाउने गरे पनि नेपाल आएपछि नेपाली भाषामा गीत गाउँदा आफ्नै भाषा भएकाले झन् कम्फर्ट फिल भयो’ –उनी भन्छिन्। शास्त्रीय संगीतमा स्नातक गरेकी उनी १० वर्षअघि विवाह गरेर नेपाल आएकी हुन्। नेपाल आएसँगै उनले नेपाली सांगीतिक क्षेत्रमा लामै संघर्ष गरिन्। एक दशकअघि नेपाली तारामा सहभागी भएकी उनी टप टेनसम्म पुगेकी थिइन्। तर स्वास्थ्य समस्याको कारणले शो नै छोड्नुपरेको उनले खुलाइन्।

त्यसपछि उनले नेपालयको पलेटीमा नेपालका विभिन्न गायक–गायिकासँग गीत गाउने मौका पाइछन्। ‘पलेटीमा मैले अम्बर गुरुङदेखि लिएर फत्तेमान (राजभण्डारी) दाइ, दिनेश अधिकारी, माधवप्रसाद घिमिरे, बच्चु कैलाश, प्रेमध्वज प्रधानजस्ता व्यक्तिसँग लाइभ पर्फमेन्स गरेको छु, मीनाले सुनाइन्– ‘यही शुक्रबार (आज) भने गायिका शान्ति ठटालसँग पलेटीको अर्को शृंखलामा पर्फमेन्स गर्दैछु।’
फिल्म फागुको दुई आँखा चार भयोसहित अर्को एक गीत गाएर फिल्मी गायनमा प्रवेश गरेकी मीनाको हातमा ठमेल बजारको लोकप्रियता र सफलतापछि अन्य दर्जनौं फिल्मका गीतहरू छन्। तर पनि संगीतमा करिअर बनाएर बाँच्न गाह्रो रहेको उनी बताउँछिन्। ‘हामीलाई संगीतमै डिपेन्ट हुन सक्ने स्थिति अहिले छैन’ –उनले भनिन्। करिब ७ वर्षअघि पाइला नामक एल्बम ल्याएकी उनी हाल अर्को एल्बमको तयारीमा छिन्। आफ्नो सफलताको श्रेय घरपरिवार, साथीभाइ तथा दर्शक सबैलाई बाँड्न चाहने उनी आगामी दिनमा संगीतिक यात्रालाई नै निरन्तरता दिने योजना रहेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्