पूर्वलोकसभा अध्यक्ष मिरा विपक्षी उम्मेदवार, दुवै उम्मेदवार दलित समुदायबाट



 

नयाँदिल्ली, (एजेन्सी)
भारतमा राष्ट्रपति पदको उम्मेदवारीका लागि विपक्षले पूर्वसभामुख मीरा कुमारलाई चयन गरेको छ। युपीए अध्यक्ष सोनिया गान्धीले दिल्लीमा विपक्षका नेताहरूको बैठकपछि मीरा कुमारको नाम घोषणा गरेकी थिइन्।
लोकसभाकी पूर्वअध्यक्ष मीरा कुमार दलित हुन र उनका पिता बाबु जगजीवन राम देशका ठूला दलित नेता थिए।

सत्तारुढ भारतीय जनता पार्टी ले विहारका राज्यपाल रामनाथ कोविंदलाई आफ्नो उम्मेदवार बनाएको छ। दलित नेता रामनाथ कोविंदलाई उम्मेदवार बनाएपछि युपीएमाथि कुनै दलितलाई प्रत्यासी बनाउनुपर्ने दबाब थियो।

विपक्षको एक महत्त्वपूर्ण दल र विहारमा सत्ताधारी जनता दल युनाइटेडले त्यहाँको राज्यपाल रहेका रामनाथ काविंदको उम्मेदवारलाई समर्थन गरेको छ।
अहिले युपीएले बिहार कै दलित नेतालाई आफ्नो उम्मेदवार बनाएको छ। यस अवस्थामा जदयुले कोविंदको उम्मेदवारप्रतिको समर्थन जारी राख्छ वा राख्दैन चासोको विषय बनिरहेको छ।

मीरा कुमारको नाम घोषणा लगत्तै राष्ट्रिय जनता दल अध्यक्ष लालुप्रसाद यादवले भने– ‘अब बिहारकी छोरीको समर्थन गरोस नितिस।’
रामनाथ कोविंद र मीरा कुमार दुबै दलित नेता हुन्। दुबैले उच्च शिक्षा हासिल गरेका छन्। मीरा कुमार र रामनाथ कोबिंद दुबैले कानुन पढेका छन्।
मीरा कुमार लोकसभाकी अध्यक्ष भइसकेकी छिन्। उनले दिल्लीको प्रतिष्ठित मिरान्डा हाउस कलेजमा शिक्षा हासिल गरेका हुन्। सन् १९७० मा भारतीय विदेश सेवामा चयन भएकी मीराले थुप्रै देशमा भारतका लागि कूटनीतिज्ञ भएर काम गरिसकेकी छिन्।

अर्कोतर्फ कोबिंद उत्तर प्रदेशको कानपुर देहात जिलाका एक साधारण परिवारमा जन्मेका थिए। उनले कानपुरबाटै शिक्षा हासिल गरेको र राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध भएपछि राजनीतिमा प्रवेश गरेका थिए। कुनै बेला कोबिंद पनि प्रशासनिक सेवामा प्रवेश गरिसके।

मीरा कुमार ७२ वर्षीय हुन भने रामनाथ कोविंद ७१ वर्षका हुन्।

को हुन मीरा कुमार
सन् १९४७ मार्च ३१ मा जन्मेकी मीरा कुमार दलित समुदायका हुन्। उनी पूर्व उपप्रधानमन्त्री बाबु जगजीवन रामकी छोरी हुन्। उनकी आमा इन्द्राणी देवी एक समाजसेवी थिइन्।

सन् २००९ मा बीबीसीलाई दिएको एक अन्तरवार्तामा मीरा कुमारले उनले कानुन परीक्षा पास गरेको तर प्राक्टिसका लागि अदालत कहिल्यै नगएको बताएकी थिइन्।

सन् १९८५ मा उनी पहिलोपटक सांसद बनिन्। उनले बिजनौरबाट चुनाव लडेका थिए। सन् २००९ मा मीरा कुमार लोकसभाकी पहिलो महिला सभामुख चयन भएकी थिइन्। त्यतिबेला तात्कालीन प्रधानमन्त्री मनमोहन सिंह र भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले उनलाई सभामुखको कुर्सीसम्म छोडेर आएका थिए।

सन् २०१२ मा पाकिस्तानको भ्रमणका क्रममा लोकसभा अध्यक्ष मीरा कुमारले आफ्नो भाषणमा धाराप्रवाह उर्दु बोलेर पाकिस्तानी सांसद र पत्रकारहरूलाई आश्चर्यचकित पारेकी थिइन्। मीरा कुमारले शुद्ध उर्दूमा दिएको आफनो भाषणमा फिराक गोरखपुरी, मजरुह सुल्तानपुरी र फैज अहमद फैका कविताहरू पनि बाचन गरेकी थिइन्।

मीरा कुमारले ७० को दशकमा भारतीय विदेश सेवामा नौकरी गरेकी थिइन् र यस अवधिमा उनले थुप्रै मुलुकमा कूटनीतिक सेवाका लागि नियुक्त भएकी थिइन्।
राजनीतिमा उनले ८० को दशकमा प्रवेश गरेकी थिइन्। सन् १९८५ मा उनी पहिलोपटक बिजनौरबाट सांसदमा निर्वाचित भएकी थिइन्।
सन् १९९० मा उनी कांग्रेस पार्टीकी कार्यकारिणीको सदस्य बनेकी थिइन् र उनी अखिल भारतीय कांग्रेस समितिकी महासचिव पनि चुनिएकी थिइन्।
उनी दोस्रो पटक सन् १९९६ मा सांसद बनिन र सन् १९९८ मा तेस्रो पटक संसद्मा पुगेकी थिइन्। सन् २००४ मा विहारको सासारामबाट लोकसभाका लागि उनी चौथो पटक निर्वाचित भइन्। सन् २००४ को संयुक्त प्रगतिशील गठबन्धन (युपीए)को सरकारमा उनलाई सामाजिक न्याय मन्त्री बनाइयो। पाँचौपटक संसदमा निर्वाचित भएकी मीरा कुमारलाई सन् २००९ मा पहिलोपटक महिला सभामुख चयन गरियो। उनी सन् २०१४ सम्म यो पदमा बसिन्।

सन् २०१४ को लोकसभा चुनावमा उनी विहारको सासारामबाट छेडी पासवान विरुद्ध लडेकी मीराले हारेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्