भएका शौचालय हटे



 

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले जनतालाई सेवा दिइरहेको १० वटा मोबाइल शौचालय हटाएको छ। सम्झौता कार्यान्वयन नगरेको भन्दै ती शौचालय हटाइएको हो।

कामपा वातावरण व्यवस्थापन विभागले नयाँ बसर्पाकको दुई, पुरानो बसपार्क, सुन्धाराको दुई, सितापाइला, बालाजु र कोटेश्वरका गरी १० वटा मोबाइल शौचालय हटाएको हो।

काठमाडौं महानगरपालिकाले सञ्चालन भइरहेको मोबाइल शौचालय हटाएपछि राजधानीमा घुम्न र अन्य काममा आउने जनतालाई शौच गर्न समस्यामा पर्ने भएका छन्।

आठ महिना अघिदेखि ती मोबाइल शौचालयले जनतालाई सेवा दिँदै आएको थियो। पछि कामपाकै वातावरण व्यवस्थापनमा कार्यरत कर्मचारीको मिलोमतोमा कोटेश्वर, बानेश्वर, सुन्धारा र दरबार स्कुलअघि मोबाइल शौचालय राखिएको थियो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले नयाँ शौचालय निर्माण भएपछि राजधानीमा शौचालयको समस्या समाधान हुने दाबी गर्नुभयो। उहाँकै टोलीले राजधानीमा अवैधरूपमा सञ्चालन भएका शौचालय हटाएको हो। कामपाले ४२ स्थानमा नयाँ शौचालय व्यवस्थापन गर्ने भन्दै करसमेत नतिरेकाले ट्वाइलेट हटाएको हो। महानगरका मेयर विद्यासुन्दर शाक्यले राजधानीका अधिकांश स्थानमा सार्वजनिक शौचालय स्थापना गर्ने भने पनि हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा जनतालाई सेवा दिँदै आएको शौचालय हटाएको हो।

कामपाले शौचालय निर्माण गर्न टेन्डर आह्वान गरे पनि थप अध्ययन गर्नुपर्ने भन्दै शौचालय निर्माण प्रक्रिया स्थगित गरेको थियो। जनप्रतिनिधिले पुनः अध्ययन गर्नुपर्ने भन्दै हाललाई स्थगित गर्न भने पनि सो विषय थाती रहेको कामपाका एक कर्मचारीले बताए।

४२ स्थानमा शौचालय निर्माण गर्न दुई कम्पनीले टेन्डर हालेका थिए। तर हाल शौचालय निर्माण गर्ने विषयमा कुनै पहल भएको छैन। आफैले निर्माण गरेर सञ्चालन गर्ने कि अन्य कसैलाई दिने भन्ने विषयमा निर्णय नभएकाले समस्या परेको ती कर्मचारीले बताए।
तत्कालीन कामपा प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलको कार्यकालमा शौचालय निर्माण गर्न टेन्डर आह्वान गरिएको थियो। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले शौचालय निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कुन मोडालिटीमा निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

कामपाले सडक विभागको योजना तथा डिजाइन विभागसँग स्वीकृति लिएर शौचालय निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो। सडक डिभिजन कार्यालय क्षेत्र नम्बर २ को कार्यक्षेत्र पर्ने स्थानमा निर्माण गर्ने भनिएको शौचालय कहिलेबाट शुरु गर्ने भन्ने विषयमा अन्योल कायम रहेको छ।

कामपाले शौचालय निर्माण गर्न प्रस्ताव गरेको क्षेत्रमा कुनै संरचना निर्माण गरेको भए सो स्थान स्वतः खाली गराइदिनसमेत अनुरोध गरिसकेको छ। ‘सबै प्रक्रिया पूरा भएर पनि जनप्रतिनिधिले छलफल गर्नुपर्ने भन्दै हाललाई सबै प्रक्रिया स्थगित गरिएको छ।’ –एक कर्मचारीले भने।

कामपाले कोटेश्वर, गौशाला, चुच्चेपाटी, सेतोपुल, गोपीकृष्ण हल चावहिल, सुकेधारा, बालुवाटार, महाराजगन्ज, कमलपोखरी, तिलगंगा, बागबजार, नारायण चौर, पेप्सीकोला, माइतीघर, बानेश्वर बबरमहल, मिनभवन, लैनचौर, सुन्धारा भुगोलपार्क, वसन्तपुरक्षेत्र, वनस्थली माछापोखरी, नयाँ बसपार्क, बालाजु, बाइपास, गोंगबु, खानीविभाग लैनचौर, सामाखुसीचोक, सुन्धरा चोक, कालीमाटी, टेकु, बल्खु, वनस्थली र सीतापाइला चोकमा शौचालय निर्माण प्रकृया अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्