डोटीमा आइतबार देखि मतदाता परिचयपत्र वितरण हुँदै



विमल विष्ट, डोटी ।
आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार देखि मतदाता परिचयपत्र वितरण हुने भएको छ ।

दोस्रो चरणमा प्रदेश नम्बर ७ सहित तीन प्रदेशमा निर्वाचन हुँदैछ । जिल्ला निर्वाचन कार्यालय,डोटीले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने जनाएको छ ।

निर्वाचन कार्यालयले आइतबार देखि मंगलबार सम्म तीन दिन परिचयपत्र सँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत नन्दि राज ओझाले बताउनु भयो ।

कार्यालयले सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । मत बदर हुन नदिने र सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत ओझले जानकारी दिनु भयो ।

उहाँका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ ।

 

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एकरएक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले मतदातालाई आइतबार देखि मंगलबार सम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन आग्रह गरेको छ ।

 

मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ । कार्यालयका अनुसार १० गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी खटाइने र ११ गतेदेखि मतदाता परिचयपत्र वितरण काम पुरा हुने छ ।

निर्वाचन कार्यालयका अनुसार डोटीमा कुल एक लाख १ हजार २१ मतदाता रहेका छन् । जसमा महिला ५४ हजार ८ सय ४९ र पुरुष ४६ हजार १ सय ७२ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्