पुष्कर बुढाथोकी

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको इतिहास ६ दशक लामो भइसकेको छ। पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ। एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाबाट प्राविधिक शिक्षा लिन सक्छन्। सीटीईभीटीले आफ्नो आगिंक मात्रै नभई निजी क्षेत्रलाई समेत व्यावसायिक शिक्षाको अध्यापन गराउन स्वीकृत दिएको छ। नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको छ। विज्ञहरू भन्छन्, देशको अहिलेको समग्र शिक्षा प्रणाली नै यस कुरामा मुख्य कारक हो। गत शुक्रबार ग्रेडिङ प्रणालीमा एसईई परीक्षाको नतिजा पनि सार्वजनिक भएको छ। यसै सन्दर्भमा एसएलसी दिएका र विभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थी र उनीहरूको अभिभावकमा कहाँ पढ्ने कुन विषय पढ्नेलगायत विषयले कौतूहलता छाएको छ। उनीहरूको मनमा कुन विषय पढे राम्रो जागिर पाइन्छ भन्ने सोच जाग्न थालेको छ।

प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने’ शिक्षा भनिन्छ। पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्ता आकर्षण बढ्दै गएको देखाएको छ। सीटीईभीटीको तथ्यांकअनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगार दर ७० प्रतिशतभन्दा बढी छ। तीन वर्ष डिप्लोमा उत्तीर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) का लागि योग्य मानिन्छन्। तीनवर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तहको सरह मान्यता प्रदान गरेको छ। डिप्लोमा कोर्सहरू पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सकिन्छ।

विद्यालय र विश्वविद्यालयमार्फत् उच्च शिक्षा अध्ययन गर्नेहरूकालागि तहगत व्यवस्था भएजस्तै परिषद्अन्तर्गतका शिक्षालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको छ। वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्छ।

परिषद्अन्तर्गत आंगीक संस्थाका रूपमा एक प्राविधिक प्रशिक्षण प्रतिष्ठान, २२ वटा शिक्षालय एवं पोलिटेक्निकहरू, २ वटा ग्रामीण तालिम केन्द्र, ६ वटा साझेदारीमा सञ्चालित संस्थाहरू र १० वटा निर्माणाधीन बहुप्राविधिक शिक्षालयहरू, ३ वटा क्षेत्रीय कार्यालयहरू गरी जम्मा ४४ वटा संस्थाहरू सञ्चालित छन्। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालित ७३ वटा विद्यालयहरू, विभिन्न शिक्षालयमा गरी प्राविधिक एसईईतर्फ ६ सय २० कार्यक्रम, डिप्लोमातर्फ ४ सय ३४ कार्यक्रम एवं छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्ने ४ सय ४२ संस्थाहरू परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालित छन्।

परिषद् र परिषद् मातहत सम्बन्धन प्राप्त शिक्षालय, कलेज र संस्थाहरूमा गरी तीनवर्षे डिप्लोमा⁄प्रमाणपत्र तहमा वार्षिक १७ हजार ३ सय ६०, प्रा. एसईईमा २४ हजार ६ सय ५ र छाटो अवधिको तालिमहरूमा १५ हजार प्रशिक्षार्थीलाई भर्ना गर्ने क्षमता छ। सीटीईभीटीसँग विभिन्न निकायबाट वार्षिक करिब २५ हजार जनाले प्राविधिक शिक्षा र ४० हजार जनाले व्यावसायिक तालिम प्राप्त गरिरहेका छन्। डिप्लोमा प्रमाणपत्र तहमा २५ हजार, टी एसएलसीतर्फ २५ हजार, छोटो अवधिको तालिमतर्फ ५० हजार र सीप परीक्षणतर्फ ५० हजार गरी कुल १ लाख ५० हजार जनालाई वार्षिक रूपमा दक्ष बनाउँदै आएको छ यसले।

परिषद्का सूचना तथा अनुसन्धान महाशाखा निर्देशक जीवनारायण काफ्लेले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीले) ले ७३ जिल्लाका ७६ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले दुर्गमका सीमान्तकृत वर्गमा प्राविधिक शिक्षाको पहुँच एवं विस्तार गर्ने उद्देश्यले उक्त सामुदायिक विद्यालयमा तीनवर्षे डिप्लोमा कार्यक्रम तथा प्राविधिक एसएलसीका कक्षा सञ्चालनमा रहेको जानकारी दिनुभयो।

प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा रहेका सामुदायिक विद्यालयले स्थानीय आवश्यकताअनुसार थप स्वीकृति लिई २२ वटा कार्यक्रम सञ्चालन गरेको काफ्लेले बताउनुभयो। यसै गरी निजी रूपमा सामुदायिक विद्यालयले पनि विभिन्न जिल्लाका ६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। उहाँले सीटीईभीटीअन्तर्गतका सबै कार्यक्रममा संस्था सञ्चालनका लागि सम्बन्धनको माग चर्को रूपमा रहेको बताउनुभयो।

प्राविधिक तह अध्ययन हुने विषय

कृषिः
जेटीए (पशुपालन⁄एनीमल साइन्स), जेटीए (प्लान्ट साइन्स) टेक्स्टाइल एन्ड सेरिकल्चर

इन्जिनियरिङतर्फः

सिभिल (सबओभरसियर), मेकानिकल (सबओभरसियर), अटोमोबाइल सबओभरसियर), जुनियर कम्प्युटर टेक्निसियन, एयर कन्डिसनिङ एवं रेफ्रिजेरेसन, इलेक्ट्रिकल (सब ओभरसियर), इलोक्ट्रोनिक्स (सबओभरसियर), स्यानटरी (सबओभरसियर), सर्वे (सबओभरसियर),

स्वास्थ्य तर्फः
सीएमए, अनमी, एएएच ब्लु (आयुर्वेद), डेन्टल हाइजेनिस्ट), ल्याब असिस्टेन्ट, आम्ची, अक्युपन्चर।

विकास तथा व्यवस्थापनतर्फ
सोसियल मोबिलाइजर, कार्यालय व्यवस्थापन, उद्यमशीलता विकास
डिप्लोमा⁄प्रमाणपत्र तहको कार्यक्रम

कृषिः
आईएस्सीएजी (प्लान्ट साइन्स)
आई एस्सी एजी (एनिमल साइन्स)
डिप्लोमा ईन फुड एण्ड डेरी टेक्नोलोजी

वन विज्ञानः
डिप्लोमा इन फरेस्ट्री

इन्जिनियरिङः
डिप्लोमा इन सिभिल इन्जिानियरिङ, जियोमेटिक्स इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, आर्किटेक्चर इन्जिनियरिङ, अटोमेकानिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स
डिप्लोमा इन बायोमेडिकल इक्युपमेन्ट इन्जिनियरिङ

स्वास्थ्यतर्फः
प्रमाणपत्र तह सामान्य चिकित्सा
प्रमाणपत्र तह नर्सिङ
डिप्लोमा इन फार्मेसी
प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल, आयुर्वेदिक साइन्स, होमियोप्याथी, फिजियोथेरापी
होटल म्यानेजमेन्टतर्फ
डिप्लोमा ईन होटल म्यानेजमेन्ट

सामाजिकः
डिप्लोमा ईन सोसियल वर्कर
डिप्लोमा इन इन्टरपेनरसिप डेभलपमेन्ट
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले डिप्लोमा⁄प्रवीणता प्रमाणपत्र तह र टी एसएलसी तहको व्यवस्था गरेको छ। यसरी सञ्चालित विषयमा स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, कृषि र अन्य विषयहरू पर्दछन्। यो तीन वर्ष अवधि अध्ययन गर्नुपर्ने हुन्छ। परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, इन्जिनियरिङ, कृषि र अन्य विषयमा सञ्चालन गर्ने गरेको छ।

कम खर्चिलो भएकाले यो तह गरिब स्तरका विद्यार्थीले बढी अध्ययन गर्ने गर्छन्। परिषद्ले लागू सञ्चालन गरेको अधिकांश विषय कामपछिको रोजगारीको महत्त्व बोकेको छ।
जनस्वास्थ्यतर्फ:

जनरल मेडिसिन
यसतर्फ मध्यमस्तरीय स्वास्थ्य जनस्तर शक्ति उत्पादन हुन्छ। यसलाई एचए पनि भनिन्छ। जनरल मेडिसिन पढ्नेको संख्या वर्षेनी बढ्दै गएको छ। यो विषय उत्तीर्ण गरेर स्वास्थ्य चौकी, स्वास्थ्यसम्बन्धी सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्यसम्बन्धी संघसंस्थामा पनि रोजगारीको अवसर उत्तिकै हुन्छ। जनरल मेडिसिन उत्तीर्ण भएपछि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न पाइन्छ। तर एमबीबीएस अध्ययन गर्नका लागि ब्रिजकोर्स गर्नुपर्छ।

नर्सिङ
सीटीईभीटीले उत्पादन गर्ने सबैभन्दा बढी जनशक्तिमा स्टार्फ नर्स पर्छ। उसले वर्षेनी ३ हजार ८ सय स्टाफ नर्स उत्पादन गर्छ। सीटीईभीटीअन्तर्गतको शिक्षालयमा अध्ययन गरेर स्टार्फ नर्स उत्तीर्ण भएपछि दुई वर्षको अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न योग्य मान्ने भएकाले पनि स्टार्फ नर्स अध्ययन गर्नेको संख्या वृद्धि भएको अनुमान गर्न सकिन्छ। यसको अलवा निजी क्षेत्रको अस्पताल बढ्दै गएपछि स्टाफ नर्सको माग बढेको छ। निजी तथा सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने संस्था र अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको खपत हुन्छ।

मेडिकल ल्याब टेक्नोलोजी
सीटीईभीटीअन्तर्गतका ४३ शिक्षालयबाट वार्षिक १ हजार २ दुई ९० जनशक्ति उत्पादन हुन्छ। सरकारी निजी स्तरमा क्लिनिक, अस्पतालमा पनि ल्याब असिसटेन्टका रूपमा जागिर पाइन्छ। हाल यसको माग बढी छ। हालसम्म कमै मात्र ल्याब टेक्निसियन उत्पादन भएका छन्।

डिप्लोमा इन रेडियोग्राफी
यो विषयको अध्ययनपछि जिल्ला अस्पतालदेखि राष्ट्रिय स्तरका अस्पतालसम्म रोजगारीको अवसर हुन्छ। निजी स्तरबाट सञ्चालित अस्पतालमा नर्सिङ होमहरूमा पनि यो तहको जनशक्तिको माग छ।

डिप्लोमा इन डेन्टल साइन्स
स्वास्थ्य मन्त्रालयले यस विषयअन्तर्गत सरकारी दरबन्दी सृजना नगरेको भन्दै बेलाबेलामा आन्दोलनसमेत भइरहने गरे पनि निजी स्तरमा सञ्चालित डेन्टल अस्पताल, क्लिनिकमा यो जनशक्तिको माग छ। डेन्टल साइन्स अध्यापन गराउने राजधानी र बाहिरी शहरमा गरी पाँचवटा शिक्षालय रहेको छ।

डिप्लोमा इन फार्मेसी
सरकारले नगरपालिका क्षेत्रमा रहेको औषधि पसलमा कार्यरत व्यक्ति कम्तीमा पनि डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने नियम बनाएकाले हाल यसको माग बढ्दो छ। डिप्लोमा इन फार्मेसी उत्तीर्ण भएपछि बिफर्म अध्ययन गर्ने पाइन्छ। रोजगारीका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा पाइन्छ।

LEAVE A REPLY