किन व्यवस्थापन पढ्ने ?



 

रोविन पौडेल

अहिले एसईईपछिको शिक्षाको यात्रा भनेको कक्षा ११ हो। एसईईपछि म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीको संख्या पछिल्लो समयमा उल्लेख्यरूपमा बढेको छ। रोजगारीको अवसर पनि पर्याप्त भएका कारण यस विषयतर्फ विद्यार्थीको आकर्षण बढेको हो। सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रणका कारण अधिकांश उच्च मावि र कलेजमा म्यानेजमेन्ट विषय पढाउने गरेका छन्। म्यानेजमेन्टअन्तर्गत अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेसी, आदि विषय पढ्नुपर्ने हुन्छ।

म्यानेजमेन्ट एसएलसीमा उत्कृष्टले मात्र पढ्न सक्ने विषय होइन। सबै विद्यार्थीका लागि म्यानेजमेन्ट उपयुक्त छ। कक्षा ११ मा पनि म्यानेजमेन्टमा रोज्न पाइने धेरै विषय रहेका छन्। म्यानेजमेन्टमा सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका विषय रहेका छन्। आफ्नो स्वाभाव र क्षमताअनुसारका विषय रोज्न सक्छन्। प्रयोगात्मक गर्न सक्नेले त्यहीअनुसारका विषय र प्रयोगात्मक कुरा मन नपर्ने वा गर्न नसक्नेले सैद्धान्तिक विषय रोज्नुपर्छ।

नेपालजस्तो विकासशील राष्ट्रमा म्यानेजमेन्ट पढेका जनस्रोतको माग बढ्दो छ। विकल्प पनि धेरै छन्। बढ्दो माग र विकल्पबीच चुनौती पनि उत्तिकै छन्। एसईईपछि विद्यार्थीले आखिर किन पढ्नुपर्छ त म्यानेजमेन्ट ?

 

सुशील भट्ट
अध्यक्ष,
म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल

म्यानेजमेन्ट आजको दिनमा अपरिहार्य विषय हो। किनभने म्यानेजमेन्टको सीमा हुँदैन। म्यानेजमेन्ट भनेको आफूदेखि समाज, संस्था राष्ट्रको म्यानेजमेन्ट हो। आफ्नो गन्तव्य, शुरुआत सोचलाई राम्रो व्यवस्थापन गर्ने पहिलो संस्कार म्यानेजमेन्टले दिन्छ। यो विषय एक गहकिलो तथा मल्टिडिसिप्पेनरी हुन्छ। तसर्थ यो विषय हरेक क्षेत्रका लागि अपरिहार्य हुन्छ।

अहिले म्यानेजमेन्टको माग जताततै छ। व्यक्तिले आफूलाई म्यानेज गर्न पनि म्यानेजमेन्ट चाहिन्छ किनकि सबै कुरा म्यानेजमेन्ट हुन्। पसल व्यवस्थापन, उद्योग व्यवस्थापनदेखि डाक्टर इन्जिनियरजस्ता मर्यादित पेसामा पनि व्यक्तिगत व्यवस्थापन हुन्छ।

उद्यमशीलता, व्यवशायदेखि इन्जिनिएरिङसम्म म्यानेजमेन्टबाट उत्तीर्ण भएका जनशक्तिको माग छ। यसलाई देखेर नै विद्याथीहरु यस विषयप्रति आकर्षित भएका हुन्। म्यानेजमेन्ट जानेका व्यक्तिसँग कार्यकुशलताको शिक्षा हुन्छ। यसले ऊ व्यवशाय गर्दा आवश्यक ज्ञान, तरिका तथा वातावरण बुझी सम्भावित समस्याका लागि तयार रहन सक्छ। म्यानेजमेन्ट पढेको व्यक्तिले मात्रै इकोनोमिक भाइब्रेन्सि ल्याउन सक्छन्।

कुनै क्षेत्रमा प्रगति हासिल गर्न तथा समग्रमा देशकै उत्थानका लागि म्यानेजमेन्टको आवश्यक हुन्छ। किनभने प्रोलिफरेट मार्केट (स–साना व्यवसाय) नै आर्थिक उन्नतिको सूचक हो। उदाहरणका लागि अमेरिकी अर्थतन्त्रको ८० प्रतिशत हिस्सा सान व्यवसायले ओगट्छन्। त्यस कारण नेपालमा पनि आर्थिक समृद्धि हासिल गर्ने एउटै उपाए व्यक्तिगत स्तरमा उद्यमशीलता विकास गर्न जरुरी छ। उद्यमशीलता सिकाउने एउटै शिक्षा भनेको व्यवस्थापन शिक्षा हो।

नेपालमा भोलिका दिनमा नेपालमा रहेका बिजनेस स्कुलहरुले म्यानेजमेन्टका अन्य फर्म इन्ट्रोड्युस गराउन जरुरी छ। जसको कारण उनीहरुपछि सफल उद्यमी तथा कुशल व्यवस्थापक बन्न सकून्।

आजको शिक्षाले म्यानेजमेन्ट भन्नाले फाइनान्सिएल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टलाई मात्र मूलधारको म्यानेजमेन्ट मानेको छ। तर यसको सीमा हुँदैन। म्यानेजमेन्टका अन्य रूप पनि छन्। जस्तैः प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्ट केही उदाहरण हुन्।

अर्कोतर्फ यहाँ कक्षा १० पास गर्दैमा म्यानेजमेन्ट पढ्नुपर्छ भन्ने छैन। पछि गएर कुनै पनि म्यानेजमेन्ट विषय पढ्न मिल्छ। त्यसो गर्दा राम्रो हुन्छ। मेरो बुझाईमा नेपालमा भोलिका दिनमा नेपालमा रहेका विजनेस स्कुलहरुले म्यानेजमेन्टका अन्य फर्म इन्ट्रोड्युस गराउन जरुरी छ। जसको कारण उनीहरु पछि सफल उद्यमी तथा कुशल व्यवस्थापक बन्न सकून्।

अझ उचित के हुन सक्छ भने अहिलेका नानीबाबुलाई एसईई पास गरेर म्यानेजमेन्ट विषय पढाउने भन्दा पनि सानै उमेरदेखि यससम्बन्धित उचित संस्कार तथा शिक्षा दिलाउने पेडागोजी विकास गर्नु आवश्यक छ। जसका कारण उनीहरु सिर्जनशील, बजारको मागअनुरूप बैंकिङ⁄कर्पोरेटलगायत सम्पूर्ण व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्न सकून्।

म्यानेजमेन्ट स्कुल पनि यहाँ म्यानेजमेन्ट स्कुल जस्तो देखिनुपर्छ। उनीहरुले विद्यार्थीको रुचिअनुसारको डिग्री दिने सैद्धान्तिक शिक्षामात्र नभएर प्रयोगात्मक लगायत सिर्जनात्मक शिक्षा दिनुपर्छ।

 

 

चन्द्र ढकाल
एसोसिएट उपाध्यक्ष,
नेपाल उद्योग वाणिज्य महासंघ

म्यानेजमेन्ट अहिले सर्वाधिक पढिने विषय हो। नेपालजस्तो विकासशील राष्ट्रमा अहिले बैंकदेखि हरेक बिजनेस संथा हरेको लेभलमा म्यानेजमेन्टकै विद्यार्थीको बाहुल्यता रहेको र माग पनि उस्तै
उच्च मात्रामा रहेकाले यो विषयमा धेरैको चासो रहेको छ।

म्यानेजमेन्ट भन्नाले बिजनेस संथा मात्र नभएर सबै क्षेत्रको म्यानेजमेन्ट भन्ने बुझिन्छ। जुनसुकै ठाउँमा पनि प्रभावकारी नतिजा ल्याउन व्यवस्थापन शिक्षा चाहिन्छ। म्यानेजमेन्ट साना तथा घरेलु व्यवसाय, बहुराष्ट्रिय कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सम्पूर्णका लागि व्यवस्थापक तयार पार्ने शिक्षा हो। म्यानेजमेन्ट थोरै लगानीमा धेरै फाइदा लिन सक्ने, समाजमा सर्वोकृष्टता प्राप्त गर्न सक्ने शिक्षा हो।

 

म्यानेजमेन्टका विद्यार्थीले पढाइ सकेपछि पनि रोजगारीका लागि तुरुन्तै सजिलै एप्लाई गर्न सक्छन्। स्यालरी पनि राम्रै हुन्छ। जसका लागि मागअनुसार जनशक्ति उत्पादनका लागि यो विषय पढाउने थुप्रै कलेज खुलिसकेका छन्।

 

प्लस टु पनि म्यानेजमेन्ट अध्ययन गरेका चार्टर एकाउन्टेन्ट (सीए) बन्न सक्छन्, सरकारी वा गैरसरकारी संस्थामा काम गर्न सक्छन्, आफैं उद्यमशील बन्न सकिन्छ। प्लस टुपछि विभिन्न विश्वविद्यालयमा स्नातक तहमा म्यानेजमेन्टका विषय अध्ययन गर्न पाइन्छ, बीबीएस, बीबीए, बीबीएम, बीआईटी, बीएमएम, बीटीएमटीलगायतका कोर्ष अध्ययन गर्न पाइन्छ। म्यानेजमेन्टअन्तर्गत अध्यापन गराइने आईटी, होटल म्यानेजमेन्टलगायत विषयमा नेपाल तथा विदेशमा धेरै अवसर रहेका छन्। प्लस टुमा म्यानेजमेन्ट पढेमा माथिल्ला तहमा यी विषय अध्ययन गर्ने अवसर पाइन्छ।

यसरी म्यानेजमेन्ट शिक्षाले रोजगारीका लागिदेखि उद्यमी तयार पार्ने कामसमेत गरेको हुन्छ। यो सर्भसुलभरूपमा अध्ययन गर्न सकिने शिक्षा हो।

म्यानेजमेन्टका विद्यार्थीले पढाइ सकेपछि पनि रोजगारीको लागि तुरुन्तै सजिलै एप्लाई गर्न सक्छन्। स्यालरी पनि राम्रै हुन्छ। जसका लागि मागअनुसार जनशक्ति उत्पादनका लागि यो विषय पढाउने थुप्रै कलेजहरु खुलिसकेका छन्।

१८ महिने प्राविधिक एसएलसी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का आंगिक प्राविधिक शिक्षा र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत सञ्चालित १५ महिने र २९ महिने प्रा. एसएलसी र सम्बन्धन प्राप्त निजी शिक्षालय⁄कलेजहरुले १५ महिने प्रा. एसएलसी कोर्षहरु सञ्चालन गर्ने गरेकोमा गत वर्षदेखि सबै शैक्षिक कार्यक्रमलाई १८ महिने कार्यक्रमको रूपमा परिमार्जन गरी सञ्चालन गरिएको छ। एसईई परीक्षामा जुनसुकै ग्रेड प्राप्त गरेका विद्यार्थीले पनि यस कार्यक्रममा भर्ना भई अध्ययन गर्न पाउने भएका छन्।

कार्यक्रम र न्यूनतम योग्यता
टीएसएलसीका सम्पूर्ण कार्यक्रमका लागिः एसएलसी वा एसईई मा जुनसुकै ग्रेड प्राप्त गरेको।

प्रवीणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पूर्ण कार्यक्रमको लागिः एसएलसी वा एसईई परीक्षाको अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको। डिप्लोमा इन्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागिः विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको। डिप्लोमा तहका कृषि फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री कार्यक्रमका लागिः अंग्रेजी गणित र विज्ञानमध्ये कुनै २ वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एकमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको।

डिप्लोमा इन होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसिएल वर्कका लागि अंग्रेजी विज्ञान र गणितमा न्यूनतम डि प्लस ग्रेड प्राप्त गरेको। डिप्लोमा इन बायोमेडिकल इक्युपमेन्ट इन्जिनियरिङ (१८ महिने कार्यक्रमका लागि)ः विज्ञान विषय लिई १० प्लस २ उत्तीर्ण गरेको। प्राविधिक धारबाट इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर) मा एसएलसी वा एसईई उत्तीर्ण गर्नः सम्बन्धित विषय वा कार्यक्रममै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने। इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर) भन्दा फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा हुनुपर्ने।

प्राविधिक धारबाट कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स) मा एसएलसी वा एसईई उत्तीर्ण गर्नः सम्बन्धित विषय वा कार्यक्रममा कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स) मै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने। कृषि बाहेकका अन्य फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा गरेको हुनुपर्ने।

 

छात्रवृत्तिको व्यवस्था
कुनै पनि कोर्ष पुरा गर्दा प्रति ब्यक्ति औसतमा रु ३ लाख ५० हजार देखि ५ लाख सम्म शुल्क लाग्ने गरेको भए पनि सिटिभिटिले डिप्लोमा⁄प्रवीणता प्रमाण पत्र तहका सबै कार्यक्रमहरुमा जेहेन्दार, बर्गीकृत र निर्वाह छात्रबृत्ति को ब्यबस्था गरेको छ।यसका साथै परिषदबाट संचालित आंगिक तथा सम्बन्धन प्राप्त संस्थाहरुमा संचालित कार्यक्रममा अध्ययन गर्ने टिएसएलसी तहका बिद्यार्थीका लागि समेत छात्रबृत्तिको ब्यबस्था गरेको छ।जस अन्तर्गत जेहेन्दार (पूर्ण शल्कीय ) छात्रबृत्ति ,बर्गिकृत निशुल्क छात्रबृत्ति,(साधारण र लक्षित )र निर्वाह छात्रबृत्तिको ब्यबस्था गरेको छ।यसैगरी भूकम्प पीडितलाई प्राबिधिक शिक्षा छात्रबृत्ति कार्यक्रम समेत संचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्