कर छलेका डी मारियालाई जेल



 

लन्डन, (एजेन्सी)
कर छली गरेको स्वीकारपछि एन्जेल डी मारियालाई एक वर्षको जेल सजायका साथै १७ लाख ६० हजार पाउन्ड जरिवाना तिराएको छ।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी डी मारियाले दुई छुट्टा छुट्टै कर छलीको आरोप स्वीकार गरेका हुन्। हाल पेरिस सेन्ट जेर्मेनबाट खेल्ने अर्जेन्टिनी स्ट्राइकरले स्पेनी सरकारलाई छक्काएकोमा दोषी पाइएको थियो। उनले रियल मेड्रिडबाट खेल्दा २०१० र २०१४ बीच ११ लाख ४० हजार पाउन्डको करछली गरेका थिए। तर २९ वर्षीय खेलाडीले भने जेलभित्र सजाय कटाउनुपर्ने भने छैन। स्पेनको कानुनअनुसार दुई वर्षको कम सजायमा जेल चलान हुनुपर्दैन। यदि कुनै आपराधिक रेकर्ड छैन भने मात्रै यो कानुन लागू हुन्छ।

यसरी स्पेनमा कर छलीको आरोप लागेर सजाय पाएकामा डी मारिया दोस्रो अर्जेन्टिनी स्ट्राइकर हुन्। गत वर्ष बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई पनि स्पेनी कानुनले कर छलेको आरोपमा जेल सजाय र जरिवाना तिराएको थियो। तर मेसी पनि २१ महिनाको जेल सजाय पाएकाले जेल जानबाट बचेका थिए। उनका साथ उनका बाबु पनि कर छलीमा दोषी पाएका थिए।

यस्तै विश्व फुटबलमा कर छली गर्नेको ताँती बढिरहेको छ। गत सातामा मात्रै म्यानचेस्टर युनाइटेडका मेनेजर जोजे माउरिन्होमाथि कर छली गरेको आरोप लागेको छ। माउरिन्होले रियल मेड्रिडका मेनेजर हुँदा २०१० र २०१३ बीच २ करोड ३० लाख पाउन्ड कर छली गरेको स्पेनी कर अधिकारीले आरोप दर्ता गराएका छन्। यसै गरी रियल मेड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि स्पेनी कर अधिकारबाट १ करोड २९ लाख पाउन्ड कर लुकाएको आरोप खेपिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्