यस्तो पनि सनसनी



 

हाम्रो देशमा पनि ठूला बडाको भ्रमणको क्रममा ट्राफिक जाम भएर हैरान हुने गरेको छ।

हाम्रै देशमा ठूला बडा मात्रै होइन विदेशबाट कोही आउनुपर्छ राजधानीबासीलाई घरबाहिर निस्कन नै साह्रै मुस्किल पर्ने गरेको छ। यसखालको शैली हामीकहाँ मात्रै चाहिँ होइन। दक्षिण एसियाका अधिकांश मुलुकमा पारा उही हो।

तर, छिमेकी भारतमा एक जना प्रहरीका सब इन्सपेक्टरले गरेको कामले उनी अहिले निकै चर्चामा आएका छन्। कुरा भारतको बेंगालुरुको हो।

\
त्यहाँ मेट्रो ग्रीन लाइन उद्घाटन गर्न राष्ट्रपति प्रवण मुखजी जाँदै हुनुहुँदो रहेछ। राष्ट्रपतिको सवारीले बाटो ठप्प रहेछ। त्यही बेला बिरामी बोकेको एउटा एम्बुलेन्स पनि बाटोमा रोकिनेमा परेछ। तत्कालै सब इन्सपेक्टर एमएल निजालिंगाप्पा (फोटोमा)ले राष्ट्रपति सवारी भएको गाडीलाई एकै क्षण रोकेर एम्बुलेन्सलाई पार गर्न दिएछन्। उनले यति काम के गरेका थिए भारतभरि सनसनी मच्चियो। त्यहाँका जनताले उनको वाहवाही गरे।

स्थानीय प्रहरी कार्यालयले उनलाई सम्मान गर्यो। हेर्नुस् त, हाम्रोजस्तो दक्षिण एसियाली मुलुकमा धेरै ठूलो काम पनि गर्नुपर्दैन। सानो कामले पनि मानिसमा उत्साह र खुसी ल्याउन सक्छ। वाहवाही कमाउन सकिन्छ।

हाम्रो देशमा पनि ठूलाबडाको भ्रमण रोकेर एम्बुलेन्सलाई पार गर्न दिइयो भने के होला? हामीकहाँ त त्यस्ता प्रहरीलाई सरुवा गर्न बेर छैन। समय समय र ठाउँठाउँका बात भनेको यही होला। होइन त पाठकवृन्द?

 

प्रतिक्रिया दिनुहोस्