शिथिल हुँदै राजपा आन्दोलन



गोली काण्डबारे प्रधानमन्त्रीमाथि आक्रोश

काठमाडौं, (नेस)
स्थानीय तहको निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलन शिथिल हुँदै गएको छ। प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो। निर्वाचनको सशक्त विरोध गर्ने जनाउँदै आएको राजपाका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो।

तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताउनुभयो। नेपाल समाचारपत्रसँग प्रवक्ता सिंहले भन्नुभयो– ‘एक नम्बर र पाँच नम्बरमा आन्दोलन केही कमजोर भए पनि हामी जोडतोडका साथ तयारी गर्दै छौं। हाम्रो आन्दोलन तुहिएको छैन।’

सिंहले केही स्थानमा प्रहरीले बल प्रयोग गरेको बताउँदै मधेसका अधिकांश जिल्लामा नेपाली सेना परिचालन गरिएकाले सर्वसाधारणहरू त्रसित रहेको बताउनुभयो। यता दुई प्रदेशमा भने आन्दोलन जारी रहेको छ। राजपाको घोषित कार्यक्रमअनुसारका आन्दोलन भइरहेको छ।

दुई नम्बर प्रदेशको विर्नाचन सारिएकाले आन्दोलन गर्ने वातावरण पनि कमजोर भएको राजपा धनुषाका नेता सञ्जय सिंहले नेपाल समाचारपत्रलाई बताउनुभयो। सिंहले आफूहरूको आन्दोलन जारी रहेको बताउँदै वातावरणअनुसार नरम र गरम हुने गरेको बताउनुभयो।

राजपा नेतृत्वको संघीय गठबन्धनका दलहरू पनि शिथिल अवस्थामा रहेको छ। पूर्वमा सक्रिय लिम्बुवान क्षेत्रका दुईवटा पार्टी निर्वाचनमा सहभागी भएपछि पूर्वमा गठबन्धनको आन्दोलन शिथिल भएको हो।

यता बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र राजपाका नेताहरूबीच छलफल भएको छ। छलफलमा राजपाका नेताहरूले नवलपरासीमा आफूहरूमाथि गोली चलाइएको भन्दै प्रधानमन्त्रीसँग आक्रोश पोखेका छन्।

छलफलमा राजपाका संयोजक ठाकुरले मधेसमा सेना परिचालन गरेर राज्य आतंक मचाउन खोजिएको आरोप लगाउनुभएको थियो। उहाँले मधेस आन्दोलनमा घाइते भएका र बिहीबार मृत्यु भएका दुखीराम मेहतालाई शहीद घोषणा गर्न आग्रह गर्नुभएको छ।

छलफलमा सहभागी राजपाका नेता अनिलकुमार झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छापामार शैलीमा हाम्रा कार्यकर्ताहरू पक्राउ गरिएकोप्रति हामीले चिन्ता व्यक्त गर्यौं। नवलपरासी घटनाबारे पनि प्रश्न राख्यौं। प्रधानमन्त्रीज्यूले नवलपरासी गोली काण्डका विषयमा आत्मलोचना गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस्