बिरामीको मृत्यु प्रकरण, आक्रोसित समूहद्वारा अस्पतालमा तोडफोड



 

भक्तपुर, (नेस)
बिरामीको मृत्यु भएपछि सोही विषयलाई लिएर भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तोडफोड भएको छ।

दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३२ वर्षकी उषा बस्नेतको उपचारको क्रममा बुधबार राति मृत्यु भएको थियो। मृतकका आफन्तले घुम्न निस्किँदा पेट दुखेर स्वास्थ्य परीक्षण गर्न आएकोमा बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन्। हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौं, मृतककी श्रीमान् रामकृष्ण बस्नेतले भने,‘ उनले एक्कासि अप्ठ्यारो भयो भनेपछि एकपटक चेक गराऔं भनेर अस्पताल आएका थियौं, तर अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो।’

अस्पतालमा परीक्षण गर्दा सबै सामान्य नै छ भनेर ग्यास्ट्रिक भएर दुखेको हुन सक्ने भन्दै डाक्टरले इन्जेक्सनमार्फत ग्यास्ट्रिकको औषधि दियौं भनेको केहीबेरमै उषाको ज्यान गएको उहाँले बताउनुभयो। लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्त भेला भएपछि दिउँसो अस्पतालमा तोडफोड भएको थियो।

यता अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी अस्पताल प्रशासनले गरेको छ। अस्पतालका निर्देशक सुरेश श्रेष्ठले भन्नुभयो– ‘पेट दुख्यो भनेर आएको बिरामीको उपचारकै क्रममा अचानक हार्टएट्याक भयो, मुटुरोग विशेषज्ञसहित सात जनाको चिकित्सक टोलीले एक घण्टा लगाएर प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन।’

उहाँले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मृतक पक्षलाई यसबारे जानकारी गराएको भए पनि आक्रोसित समूह आएर एक्कासि तोडफोडमा उत्रियो, डाक्टर, नर्सदेखि कर्मचारी समेतलाई हातपात गरे।’

अस्पताल प्रशासन र बिरामीका आफन्तबीच समयमै सहमति जुट्न नसक्दा अस्पतालमा तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन्।

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपीडी, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताउनुभयो। उहाँले इमरेजन्सी र ओपीडीमा रहेका बिरामीमा केही बेर भागदौड मच्चिएको थियो भन्नुभयो।

अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो– ‘अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए अस्पताल जस्तोसुकै कारबाही भोग्न तयार छ, हैन भने तोडफोड गर्नेमाथि कारबाही हुनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ।’ तर पीडित पक्षले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन्। अस्पताल प्रशासन र पीडितका आफन्तबीच वार्तापछि सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्